जनगणना प्रतिवेदन : ‘महिला’ र ‘पुरुष’ मै गाभिए लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्ष गरेको जनगणनामा पहिलोपटक लैंगिक तथा यौनिक अल्पसंख्यकको पनि तथ्यांक लियो । तर, आज सार्वजनिक गरिएको जनसंख्याको विवरणमा भने महिला र पुरुष मात्रै छुट्याइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको कार्यालयले जनाएको छ । यसमध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात ४८.९८ प्रतिशत छन् भने भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात ५१.०२ प्रतिशत रहेको छ ।

जनगणनामा देशभर लैङ्गिक तथा यौनिक अल्पसंख्यकको संख्या २ हजार ९२८ रहेको देखिएको थियो । यो कुल जनसंख्याको ०.०१ प्रतिशत हो । तर, यो संख्या जनगणनाको विस्तृत रिपोर्टमा नदेखिएपछि कतिपयले देशको जनसंख्यामै उनीहरु छुटेका हुन् कि भन्ने आशंका गरेका छन् । तर, त्यस्तो होइन ।

जनसंख्या विवरण सार्वजनिक गर्दा महिला र पुरुषका साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यकको तथ्यांक पनि दिइएको थियो । तर अहिले महिला र पुरुष मात्र छुट्याइएको छ । अन्य देशमा भने लैंगिक अल्पसंख्यक पनि छुट्याउने गरिन्छ ।

तथ्यांक कार्यालयका अनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई महिला वा पुरुष गाभेर जनसंख्याको हिसाब निकालिएको हो ।

कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई उनीहरुको जन्मजात लिंगका आधारमा महिला वा पुरुषमा छुट्याइएको बताए । यसअघि सूचनाका लागि लैंगिक तथा यौनिक अल्पसंख्यकको तथ्यांक संकलन गरिएको उनको भनाइ छ ।

रेग्मीले नेपाल प्रेससँग भने, ‘उहाँहरु जन्मिँदा के थियो भन्ने विश्लेषण गरिएको थियो । त्यसकै आधारमा तेस्रो लिङ्गीलाई महिला वा पुरुषमा भाग लगाइएको छ । २ हजार ९२८ यौनिक अल्पसंख्यकहरु जनसंख्या विवरणमा छुटेका होइनन् ।’

यसअघि प्रारम्भिक नतिजा सार्वजनिक गर्दा तेस्रो लिङ्गीलाई जन्मिँदाखेरि महिला थिए कि पुरुष भनेर गणना गरिएको थियो ।

गणकसँग खुल्न नसक्दा कम भयो : ब्ल्यु डाइमन्ड सोसाइटी

यौनिक अल्पसंख्यकको हकहितका लागि काम गर्ने ब्लु डाइमन्ड सोसाइटीले नेपालमा लाखौं संख्यामा तेस्रो लिंगीहरु रहेको दावी गर्दै आएको छ । सो संस्थाले २०१३ मा गरेको अनुसन्धानमा ५ लाख जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक रहेको देखिएको थियो । तर, जनगणनामा भने किन तीन हजार चानचुन मात्रै देखिए त ?

ब्लुडाइमन्ड सोसाइटीका एक सदस्यले गणकसँग तेस्रोलिंगीले आफ्नो पहिचान खुलाउन नसक्दा वास्तविक तथ्यांक नआएको बताए । ‘उनीहरुले खुलेर आफ्नाे लिङ्गबारे खुलेर भन्न सक्दैन । कतिपयले आफ्नो परिवारसँग पनि भनेका हुँदैनन् । त्यसकारण पनि जनगणनामा कम देखिएको हो,’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *