सरसफाईबारे सचेतना दिन तिलोत्तमाको सिक्सलेन सडकमा मानव साङ्लो

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो ।

अभियानमा सबै नागरिकबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए ।

योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एकआपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिएका छन् ।

सरसफाई तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन गरिएको छ । अभियान १०० औं श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो ।

स्मारकमा पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगरस्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ ।

नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ । एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् । बुधबार मुख्य समारोह आयोजना गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *