महिला सशक्तीकरण र लैङ्गिक समानतामा नेपालको उपलब्धि सराहनीय : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् ।

११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको अनुभूति व्यक्त गरेकी छन् ।

‘महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ ।’

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा राष्ट्रपतिको जोड छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *