गठबन्धन फेरबदलको पराकम्प : कर्णाली सरकार यसकारण ‘सेफ जोनमा’

सुर्खेत । केन्द्र फेरिएको सत्ता समीकरणले अहिले प्रदेशहरूमा पनि हलचल आएको छ । केही प्रदेशमा सरकार नै परिवर्तन हुने स्पष्ट संकेत देखिएको छ भने, केही प्रदेशहरूमा सत्तारुढ दलहरू प्रतिपक्षमा हुने र प्रतिपक्षी दलहरू सत्तामा जाने देखिएको छ ।

संघीय समीकरण अनुसार सहमति बने कर्णाली सरकार सेफ जोनमा रहेको छ । यद्यपि अहिलेका सहयात्री दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एक जना सांसदले मत दिएका थिए । नेपाली काँग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसेको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री सँगै प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले केन्द्रमा भएको राजनीतिक फेरबदल प्रदेशमा पनि असर परेको बताए ।

उनले भने, ‘यति छिटो छिटो यस्ता खालका समीकरण फेरबदल हुनु राम्रो भने हैन । के कारणले भयो भनेर खोजी पनि गर्नुपर्छ । प्रधानमन्त्रीलाई जसरी विश्वासको मत प्राप्त भएको थियो त्यसले केन्द्रमा राष्ट्रिय सहमतिको माग गरेको थियो । राज्यका प्रमुख पदहरूमा कार्यविभाजन गर्दा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सहभागितालाई सुनिश्चित हुने गरी समावेश गर्नु पर्छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष विमला केसीले केन्द्रमा जस्तै प्रदेशमा पनि समीकरण फेरबदल हुन सक्ने बताइन् । उनले भनिन् ‘विपक्षी दलले आवश्यक पर्दा मत दिन्छौ भनेकै थिए नि, त्यो समय अब आएको छ अब दिन्छन् ।’

यस्तै, नेपाली कांग्रेस नेता प्रदेशसभा सांसद हिक्मत विष्टले सत्ता समीकरणका विषयमा पार्टी अहिलेसम्म कुनै छलफल नभएको बताए । उनले केन्द्रको प्रभाव स्वभाविक रूपमा प्रदेशमा पनि पर्ने उल्लेख गर्दै सरकारमा सहभागी हुने संकेत गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री रहेका एमाले कर्णाली प्रदेशका पार्टी अध्यक्ष विनोदकुमार शाहले कर्णालीका सवालमा अहिलेसम्म पार्टीबाट कुनै निर्णय र निर्देशन नभएको बताए ।

४० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट एक÷एक जना सांसद रहेका छन् ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएपनि कांग्रेसले मत दिएमा कर्णाली सरकार जोगिने सम्भावना बढी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *