नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्यले अघि बढेका छौं : खानेपानीमन्त्री खान (भिडिओ)

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्रि नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर नै सर्वसुलभ रुपमा खानेपानी पुर्याएर अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका हुन् ।

उनले खाडी मुलुकमा मात्रै नेपालको खानेपानी बिक्री गर्न सके मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने धारणा राखे । सिंहदरबारमा खानेपानी पुर्याउने र कल सेन्टरको काम पूरा भएको भन्दै उनले अब मन्त्रालयको ध्यान विमानस्थल, बसपार्कलगायत सार्वजनिक स्थानमा धारा जडान गर्नेमा रहेको बताए ।

उनले जनताको घरको धारामा आउने पानीप्रति विश्वास बढाउनका लागि प्रधानमन्त्रीलाई नै धाराको पानी खुवाउने कार्यक्रम गर्न लागिएको बताए । मन्त्री खानले अहिले पानीको व्यापार अनियन्त्रीत हुदै गएको र पानी माफिया तन्त्र देखिएकाले यसलाई नियन्त्रण गर्ने जिकिर गरे ।

उनले काठमाडौंको सुन्दरीजलमा नै सरकारले जार बोतल उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न सकिने धारणा राखे । मन्त्री खानले खानेपानी सम्बन्धी सम्पुर्ण गुनासो समस्या कल सेन्टरमार्फत राख्न सक्ने र सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *