पदाधिकारीदेखि केन्द्रीय समितिलाई पूर्णता दिएको माओवादीमा कार्य विभाजन भने पुरानै

काठमाडौँ । स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको नेकपा (माओवादी केन्द्र)ले कार्य विभाजन भने पुरानै कायम गरेको छ ।

आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताको कार्यविभाजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्य विभाजनलाई कायम गर्ने निर्णय गरेको हो ।

महाधिवेशनअघि माओवादीको स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल थिए भने नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज थिए । संगठन विभागमा जनार्दन शर्मा, अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका थिए ।

यस्तै कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्णबहादुर महरा, प्रमुख रहेका थिए ।

तर, सह–इन्चार्जको व्यवस्था भने अहिलेका लागि नराख्ने निर्णय स्थायी समितिले गरेको छ । प्रदेश समन्वय समितिको बैठक राखेर सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबै नेताको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीमा जोड दिने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय सदस्यलाई संघको निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, महानगरपालिका र उप–महानगरपालिकामा कार्यरत रहने गरी जिम्मेवारी तोक्ने पनि तय भएको छ । यसबाहेक प्रदेश समन्वय समितिको निर्णय केन्द्रीय समितिकै अंग हुने गरी पार्टीले व्यवस्था गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *