खेलकुदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले खेलकुद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज यहाँ शिलान्यास गर्दै उनले दोलखा जिल्लाका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्रथामिकतामा राखी आफू अगाडि बढ्ने बताए ।

करिब २५ करोडको लागतमा रङ्गशाला निर्माण हुने बताइएको छ ।

मन्त्री गुरुङले लामो समयदेखि निर्माणाधीन माथिल्लो तामाकोशी देशकै गौरवको आयोजना भएकाले यसलाई छिटो सम्पन्न गरी विद्युत् उत्पादन गर्न निर्देशन दिए ।

नले भने, ‘‘४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना जिल्लाको मात्रै नभई नेपालकै गौरवको आयोजना भएकाले यसै वर्ष निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्न आग्रह गर्दछु ।’’

उनले एशियाकै दोस्रो ठूलो नेपाल ओरन्टम्याग्नेसाइड खानीको उत्खनन, चलचित्र नगरीको रूपमा विकसित हुनलागेको डाङडुङे फिल्म सिटीको विकास र चीनसँग नाका जोडिने लामाबगर–लप्ची सडक, तामाकोशी तेस्रो जलविद्युत्लगायतका आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मन्त्री गुरुङले चीनसँग जोडिने लामाबगर–लप्चीसम्मको सुरुङमार्गको ठेक्का सम्झौता पनि छिटै हुन लागेको जानकारी दिए । ‘समृद्ध दोलखा र सुखी दोलखाली’को सपनालाई आत्मसात गर्दै आफू अगाडि बढ्दै जाने उनको भनाइ थियो ।

कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले जिल्लालाई खेलकुदका माध्यमबाट विकास गर्न सङ्घीय सरकारबाट पनि पर्याप्त बजेट विनियोजन गर्न आग्रह समेत गरे।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *