गृहको रस्साकस्सी : रास्वपा छाड्दै नछाड्ने, माओवादी दिँदै नदिने

काठमाडौं । गृह मन्त्रालयको नेतृत्वलाई लिएर सत्तारुढ गठबन्धनभित्र तीव्र रस्साकस्सी चलिरहेको छ । अबको गृहमन्त्री आफ्नै पार्टीबाट बनाउनुपर्ने अडान माओवादीले लिएपछि गठबन्धनमा दरार देखिन थालेको हो ।

सत्तारुढ दलहरुबीच भागबण्डाका क्रममा गृह मन्त्रालय रास्वपाले पाएको थियो र पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका थिए । तर, सर्वोच्चको फैसलाले उनी पदमुक्त भएपछि गृह मन्त्रालय खाली भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी फेरि रास्वपालाई गृहमन्त्री दिन तयार छैनन् ।

यता रास्वपाले भने गृह मन्त्रालयलाई आफ्नो बटमलाइन नै बनाएको छ । यदि गृह खोसिएको खण्डमा पार्टी सरकारमा नरहने रास्वपा स्रोत बताउँछ ।

‘हाम्रो भागमा परेको मन्त्रालय खोसिन्छ भने हामीलाई त्यो मान्य हुँदैन,’ स्रोतले भन्यो, ‘त्यस्तो अवस्थामा सरकारबाट बाहिरिनुको विकल्प छैन ।’

अहिले गृह माओवादीले राखेर माओवादीसँग रहेको अर्को कुनै मन्त्रालय रास्वपालाई दिने विषयमा पनि गठबन्धनभित्र चर्चा चलेको छ । तर, रास्वपालाई यो प्रस्ताव स्वीकार्य छैन ।

पार्टी स्रोत भन्छ, ‘त्यस्तो प्रस्ताव स्वीकार्य हुँदैन भनेर हामीले भनिसकेका छौं । गृह हाम्रो बटमलाइन हो ।’

रास्वपाको अडानले प्रधानमन्त्री प्रचण्ड दबाबमा परेका छन् । सत्तारुढ घटक एमालेका अध्यक्ष केपी शर्मा ओली पनि रविलाई नै गृहमन्त्री बनाउनुपर्ने पक्षमा छन् । आज बिहान पनि यस विषयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच कुराकानी भएको थियो । उनीहरुबीच मतैक्यता हुन सकेको छैन ।

यता, माओवादीको मंगलबार बसेको स्थायी समिति बैठक र त्यसअघिको पदाधिकारी बैठकले गृह मन्त्रालय आफैंसँग राख्नुपर्ने निस्कर्ष निकालेको थियो । गृहजस्तो शक्तिशाली मन्त्रालय सरकारको नेतृत्व गरेको पार्टीसँगै हुनुपर्ने माओवादी नेताहरुको भनाइ छ ।

रास्वपा प्रवक्ता डा. मुकुल ढकाल आफ्नो गृह आफ्नो पार्टीबाट खोसिएको खण्डमा राजनीति पुस १० गतेभन्दा अगाडिको अवस्थामा फर्किने बताउँछन् ।

साथै, गृहमा कसलाई पठाउने भन्ने पनि पार्टीको आन्तरिक विषय भएको उनको भनाइ छ ।

‘गृह रास्वपाले पाएको मन्त्रालय हो । यसमा कसलाई पठाउने भन्ने हामीले निर्णय गर्ने कुरा हो । हामी संविधानले दिए अनुसारको व्यक्ति छान्न स्वतन्त्र छौं,’ उनले भने ।

Comments

One response to “गृहको रस्साकस्सी : रास्वपा छाड्दै नछाड्ने, माओवादी दिँदै नदिने”

  1. THAMAN hamal Avatar
    THAMAN hamal

    Rabi is best

Leave a Reply

Your email address will not be published. Required fields are marked *