मधेसका मुख्यमन्त्री यादवलाई नेकपा एसले विश्वासको मत दिने, सरकारमा नजाने

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलका नेता गोबिन्द बहादुर न्यौपानेले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।

प्रदेशसभा बैठकमा उनले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने तर सरकारमा नजाने स्पष्ट पारेका हुन् । उनले प्रतिपक्षमा कोही नबसेपछि सरकार निरंकुश बन्ने भएकाले प्रतिपक्षमा बस्ने बताए ।

ज्येष्ठ सदस्यसमेत रहेका न्यौपानेले लोकतन्त्रको रक्षाका लागि पनि नेकपा एस प्रतिपक्षमा बसेर रचनात्मक कार्यमा सहयोग गर्ने बताए । उनले विगतका सरकारले गरेको प्रतिवद्धता अनुसार के कति काम गर्यो भन्ने मुल्यांकन गरेर अगाडी बढ्न सुझाए ।

उनले भने, ‘म विगतका सरकारको आलोचना गरिरहेको छैन । तर अगामी दिनमा राम्रो काम गर्नका लागि विगतको कामको मुल्यांकन गर्नुपर्ने मात्र भन्न खोजेको हुँ ।’

मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको विषयमा उनले जिज्ञासा राखे, ‘भ्रष्टाचार नियन्त्रण गर्छु भनेर मात्र हुँदैन । तपाईसँग भ्रष्टाचार नियन्त्रण गर्ने के योजना छ ? योजना भएपछि मात्र हुन्छ ।’

मधेश सरकारको प्रतिपक्षमा रहेका नेपाली काँग्रेस र नेकपा एसले समेत विश्वसको मत दिने भनिसकेपछि मुख्यमन्त्री यादवको पक्षमा सतप्रतिशत मतदान हुने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *