सिन्धुपाल्चोक। निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको ह्याम्स अस्पतालले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष डाक्टर आर.एस भण्डारी(रामशरण) ले सहकारीलाई एक थान एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेका थिए ।
ह्याम्स अस्पतालको साधारण सभामा दुर्गम क्षेत्रमा एम्बुलेन्स प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्ने उदेश्यले ह्याम्स अस्पतालले सहकारीलाई एम्बुलेन्स उपलब्ध गराउने अस्पतालका अध्यक्ष भण्डारीले जानकारी दिए ।

एम्बुलेन्स स्थानीय सरकारलाई उपलब्ध गराउन खोजेपनि सहकारीमा धेरै सदस्यहरु आवद्ध रहेको र सहकारी मार्फत एम्बुलेन्स उपलब्ध गराउँदा त्यसको सदुपयोग बढी हुने भएकाले सहकारीलाई नै एम्बुलेन्स दिन लागेको अध्यक्ष भण्डारीले प्रष्ट पारे ।
अस्पतालले एम्बुलेन्स तीन महिनभित्र सहकारीलाई उपलब्ध गराउने र त्यसको कार्यविधि बनाएर सञ्चालन गर्नका लागि अध्यक्ष भण्डारीले आग्रह गरे । २५ वर्ष अघि स्थापना भएको आत्मनिर्भरत बचत तथा ऋण सहकारीमा ३ हजार बढी शेयर सदस्यहरु रहेका छन् । सहकारीमा रहेको सदस्य मध्ये दुइ तिहाइ भन्दा बढी महिलाहरु रहेका छन् ।

सहकारीको रजत महोत्सव सम्पन्न
आत्मनिर्भरत बचत तथा ऋण सहकारीले आफ्नो स्थापनाको २५ औ वर्ष(रजत महोत्सव) विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर मनाएको छ । रजत महोत्सवको उद्घाटन प्रतिनिधि सभा क्षेत्र नम्बर –१ क सासंद माधव सापकोटा ‘सुवोध’ ले गरेका थिए ।

रजत महोत्सवको अवसरमा सहकारीले प्रकाशन गरेको ‘आत्मनिर्भरता’ स्मारिकाको सासंद सापकोटा, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, सहकारीका संस्थापकहरुले सयुक्त रुपमा विमोचन गरेका थिए ।
सहकारीले रजत महोत्सवको अवसरमा सहकारीले स्थापना गरेको अक्षयकोष सम्मानबाट सजत महोत्सवको अवसरमा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिकाका स्थानीय समेत रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति डाक्टर अर्जुन कार्की र हम्स अस्पतालका अध्यक्ष डाक्टर आर.एस भण्डारीलाई सम्मान गरिएको थियो ।
सासंद सापकोटा र गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले उनीहरुलाई सम्मान गरेको थियो । सामाजिक क्षेत्रमा उलेख्य योगदान गर्नेहरुलाई उक्त अक्षयकोषबाट हरेक वर्ष सहकारीले सम्मान गर्दे आइरहेको छ ।

सहकारीको रजत महोत्सवको अवसरमा सहकारीका संस्थापकहरु,संस्थापक कर्मचारी सीताराम केसी,उत्कृष्ट सञ्चालक सदस्य मधुराम कार्की, लगायत शेयर सदस्य र समुहहरुलाई पनि सम्मान गरिएको थियो ।रजत महोत्सवमा सहकारीको बार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष र लेखासमितको प्रतिवेदन पारीत भएको सहकारीका व्यवस्थापक बिपी प्याकुरेलले जानकारी दिए ।
कार्यक्रममा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सासंद माधव सापकोटा ‘सुवोध’ ले सहकारीमा अधिकांश महिला सदस्यहरु आवद्ध हुन खुसीको विषय भएको भन्दै सहकारीसँग मिलेर सहकारी सदस्यहरुको आय आर्जनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गाउँपालिका सहकारीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता गरेका थिए ।


Leave a Reply