काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको छ ।
सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अवरोध पुगेकोले व्यवसाय गर्न रोक लगाइएको हो ।
महानगरले आज एक सूचना जारी गर्दै सडकपेटीमा व्यापार नगर्न संवद्ध पक्षलाई सचेत गराउने, त्यस्तो कार्य निषेधित भएको सूचना सम्प्रेषण गर्ने र त्यस्तो अनधिकृत कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।
महानगरको सूचना उल्लंघन गरी जोसुकैले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ) वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिने जनाएको छ ।
जफत गरिएका सामान स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र ९७, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ र काठमाडौँ महानगरपालिकाको विषय सम्बद्ध कानुन बमोजिम हदैसम्मको सजाय गरिने सूचनामा उल्लेख छ ।


Leave a Reply