माओवादीद्वारा लुम्बिनीमा आधा कार्यकाल नेतृत्वको दाबी

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्री ५ वर्षकै लागि एमालेको भागमा परेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि बढेको छ । मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा उम्मेदवार बनेका माओवादी स्थायी कमिटी सदस्य जोखबहादुर महराले असन्तुष्टि जनाएका छन् ।

सभामुख लिएर मुख्यमन्त्री ५ वर्षकै लागि एमालेलाई दिएपछि माओवादी संसदीय दलका नेता महरा नेतृत्व आलोपालो गराउन सोमबार नै काठमाडौं पुगेका हुन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने गरी उनी काठमाडौं पुगेको माओवादीका एक नेताले बताएका छन् ।

‘माओवादीभित्र जसरी पनि आलोपालो नेतृत्वको दबाब छ, त्यही असन्तुष्टि लिएर महराजी काठमाडौं पुग्नु भएको हो, केही सहमति होला’ उनले भने ।

स्थायी कमिटी सदस्य महरा लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेको र प्रचण्डकै सल्लाहमा उनी मुख्यमन्त्रीको दाबीसहित रोल्पाबाट चुनाव लडेका थिए । तर, भागबन्डामा एमालेलाई परेपछि उनी असन्तुष्ट बनेका हुन् ।

कर्णालीमा एमालेले आलोपालो र लुम्बिनीमा माओवादीले आलोपाला माग गरेपनि सबै प्रदेशमा एकमुष्ट सहमति भएकाले यी दुवै प्रदेशमा निर्णय फेर्न चुनौती छ ।

माओवादीले आफ्नो आधार इलाका दाबी गर्दै आएको क्षेत्र भएकाले पनि उसले यहाँ दाबी गरेको हो । तर कर्णालीमा पूरै कार्यकाल माओवादीले पाएकाले लुम्बिनीमा पूरै एमालेले पाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *