भोजपुर साल्पासिलिछोका ज्येष्ठ नागरिकलाई गाउँपालिकाले दियो न्यानो कपडा

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका- १ कुलुङका ८९ वर्षीय ज्येष्ठ नागरिक शुवक बहादुर राई खुशी देखिए ।  उनलाई गाउँमै आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले न्यानो कपडा ज्याकेट लगाईदिएपछि उनकाे मुहारमा खुसी छाएकाे हाे ।

उनी मात्र होइन गाउँपालिकाले आफूहरुलाई न्यानो कपडा बितरण गरेकोमा सहभागी अन्य ज्येष्ठ नागरिकहरु पनि खुशी देखिएका थिए । गाउँपालिकाले जाडोको मौसममा न्यानो कपडा बितरण गरेकोमा खुशी हुँदै शुवकले भने, ‘ज्येष्ठ नागरिकहरुका लागि पनि न्यानो कपडा बितरण गर्दै आँखा शिविर समेत संचालन गरेकोमा हामी खुशी छौं ।’

पालिकाले कपडासहित निशुल्क आँखा शिविर समेत संचालन गरेको हो । ८० वर्षका भीमबहादुर राई मात्र होइन गाउँपालिका अध्यक्षबाट नै न्यानो कपडा पाएकोमा ८५ वर्षका खडगबहादुर रोका, ८४ वर्षिया थाप्लीमाया राइ, ८२ वर्षिया मनमाया राउत पनि खुशी देखिन्थे।

गाउँपालिकाले आफनो पालिकाभित्रका ७१ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको गाउँपालिकाले जनाएको छ ।

कुलुङ स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकहरुलाई आँखा तथा कान उपचार केन्द्र भोजपुरको समन्वयमा शिविर समेत संचालन गरिएको गाउँपालिका अध्यक्षका निजी स्वकीय सचिव दिक्पाल राईले जानकारी दिए ।

आँखा शिविरमा एक सय एक जनाले सेवा लिएका छन् । जसमा ३५ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नु पर्ने देखिएकाले छनौट गरिएको छ भने ३० जनालाई चस्मा समेत बितरण गरिएको छ । केन्द्रले अहिले जिल्लाको पालिकाहरुमा आँखा शिविरहरु संचालन गर्दै आएको रहेको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताए ।

 

तामाङले भने,‘आर्थिक बिपन्ताका कारण समयमा उपचार गराउन बाँकी सेवाग्राहीहरुका लागि गाउँमा संचालन हुने शिविरहरु प्रभावकारी देखिएका छन् ।’

पालिकाभित्रका नागरिकको सेवाका लागि आफुहरु निरन्तर लागि परेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । अध्यक्ष कुलुङले भने, ‘बिकास निर्माणसँगै हामी पालिकावासीको हरेक दुख सुखमा साथ दिने गरी लागि परेका छौ, न्यानो कपडा बितरण र आँखा शिविरले ज्येष्ठ नागरिकलाई राहत मिलेको छ ।’ उनले यस्ता कार्यक्रमहरु पलिकाभित्रका सवै वडाहरुमा संचालन गरिने बताए । साल्पासिलिछो गाउँपालिकाभित्र ६ वटा वडाहरु रहेका छन ।

-निरोज कोइराला

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *