रुपन्देही । तराईमा प्रमुख समस्या बन्दै गएको छाडा पशु चौपाया व्यवस्थापनका लागि रुपन्देहीमा ५ वटा पालिकाको साझेदारीमा ठूलो गौशाला बनाउने तयारी गरिएको छ ।
गैडहवामा अन्तरपालिका साझेदारीमा २ हजार गाई राख्न मिल्ने गौशाला बनाउने तयारी थालिएको हो । रुपन्देही क्षेत्र नं ५ मा रहेका सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा गैडहवा, कञ्चन र मायादेवी गाउँपालिकाको साझेदारी र लुम्बिनी विकास कोषको सहयोगमा गैडहवामा एक सय ८० बिघा क्षेत्रफलमा गौशाला बनाउने निर्णय भएको हो ।
गैडहवा गाउंपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको गैडहवा तालको दक्षिणतर्फको पहवा मण्ठाधारीबाबा सामुदायिक वन क्षेत्रमा ‘लुम्बिनी गौशाला’ बनाउने गरी पाँच स्थानीय तहका प्रमुख/अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी विकास कोषका उपाध्यक्ष र रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेको संयुक्त बैठकले निर्णय गरेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए ।
छाडा पशु चौपायाका कारण अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँदेखि भोग्दै आएका थिए ।
स्थानीयले नवनिर्वाचित सांसदलाई गौशालाको माग गरेपछि सांसद घिमिरेको पहलमा पाँचवटै पालिकासँग समन्वय गरी व्यवस्थित गौशाला निर्माणको काम अघि बढेको गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
पहिलो चरणमा लुम्बिनी विकास कोषले ५० वटा गाई राख्न मिल्ने सेड र पशु उपचार केन्द्र स्थापना गरिदिने सहमति भएको पौडेलले बताए ।
गौशालालाई बुद्ध जन्मस्थल लुम्बिनी, प्रदेशकै ठूलो गैडहवा तालसँग जोडेर पर्यटकीय दृष्टिले विकास गरिने योजना रहेको सांसद घिमिरेले बताए ।
‘पहिलो चरणमा सबै पालिकाले १५–२० लाखका दरले रकम संकलन गरेर काम अघि बढाउने र क्रमशः प्रदेश र संघीय सरकारसँग पनि बजेट माग गर्ने निर्णय भएको छ’ सांसद घिमिरेले भने, ‘गौशालालाई लुम्बिनीसँग जोडेर नमुना धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने र गोबरबाट कम्पोष्ट मल कारखाना बनाउनेसम्मका योजना छन् ।’
गौशाला बन्ने ठाउँ नजिकै गिद्धहरूको वासस्थान (जटायु रेष्टुरेन्ट) समेत रहेकाले गौशालामा कालगतीले गाईको मृत्यु हुँदा जटायु रेष्टुरेन्टमा पुर्याउर व्यवस्थापन गरेपछि गिद्धको आहारा हुने र यसले इको सिस्टममा योगदान पुराउने सांसद घिमिरेले बताए ।
किसानलाई मलको अभाव खड्किरहेको सन्दर्भमा गौशालाले मलको अभाव पूर्ति गर्न समेत योगदान गर्ने सांसद घिमिरेले बताए ।
जिल्ला प्रशासन कार्यालयसँगको बैठकबाट कानुनी प्रक्रिया पुरा गरी गौशालाको काम अघि बढाउन गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल संयोजक रहेको ११ सदस्यीय समिति गठन भएको छ ।
समितिमा पाँचवटै पालिकाका प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्ष एक–एक जना, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी विकास कोषबाट एकजना र सामुदायिक वनबाट एकजना प्रतिनिधि रहने समिति गठन गरिएको गैडहवाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए ।
डीपीआर तयार भएपछि बजेट कति लाग्छ भन्ने थाहा हुने उनले बताए । छाडा पशु चौपाया व्यवस्थापनमा अन्तरपालिका साझेदारीमा संयुक्त गौशाला निर्माण अन्य पालिकाहरूका लागि पनि उदाहरण हुने पन्थीले बताए ।

Leave a Reply