यू-२३ र बिच भलिबल टीमलाई बिदाइ

काठमाडौं । नेपाल भलिबल संघले यू-२३ पुरुष भलिबल टीम र बिच भलिबल टीमलाई बिदाइ गरेको छ ।

संघले बंगलादेशमा हुने पहिलो संस्करणको बंगबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप र सीएभीए बिच भलिबल खेल्ने नेपाली टोलीलाई आइतबार बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष मनोरञ्जन रमण शर्मा, राखेपका सदस्य जनक बर्तौला, चन्द्र वदना राई, अन्जन धमलालगायतले टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा राखेपका सदस्य सचिव घिसिङले खेलाडीलाई हौसला प्रदान गर्न सरकारले कुनै पनि प्रतियोगिता जितेर आएका खेलाडीलाई सम्मान गर्ने नियम नै तयार भइसकेको भन्दै राम्रो नतिजा ल्याउन खेलाडीलाई प्रोत्साहन गरे ।

यू-२३ पुरुष भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । बिच भलिबल टोली झन्डै एक सातापछि प्रस्थान गर्ने तालिका छ । यू-२३ एसियन जोन च्याम्पियनसिप ढाकामा डिसेम्बर २० देखि २६ सम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेशसहित किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।

नेपालले बंगलादेशसँग पुस ७ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले पुस ८ मा श्रीलंकासँग तथा पुस ९ मा किर्गिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको सेमिफाइनल पुस १० र फाइनल ११ गते हुनेछ । बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म हुनेछ । बिच भलिबल पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ कोपिला उप्रेती र कमला पुन रहेका छन् । बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *