काठमाडौं । नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेपछि बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले शुरुदेखि नै अग्रता लिएका छन् ।
एमालेले जसपालाई छाडेपछि सर्लाही १ मा मानबहादुर खड्का र मोरङ ५ मा योगेन्द्र मण्डलले बागी उम्मेदवारी दिएका थिए । सर्लाही १ मा उम्मेदवार बनेका खड्का लालबन्दी नगरपालिकाका पूर्व नगरप्रमुख पनि हुन् ।
पछिल्लो मतपरिणमअनुसार खड्काले दुई गठबन्धनलाई पछि पारेर ४ हजार ११० मत ल्याएर लिड गरिरहेका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट लोसपाका राम प्रकाश चौधरीले ३ हजार ७७५ मत ल्याएर लछ्याइरहेका छन् ।
एमाले–जसपा गठबन्धनका प्रमोद साहले २ हजार ६३६ मत ल्याएर तेस्रो स्थानमा छन् । एमालेले मात्रै नभएर कांग्रेस र माओवादीले पनि लोसपालाई छाडेपछि पहाडि क्षेत्रका बासिन्दाको सबै भोट खड्काले पाएका छन् ।
यस्तै, मोरङ ५ मा उम्मेदवार बनेका मण्डल पनि जसपालाई एमालेले छाडेपछि बागी उम्मेदवार बनेका थिए। उनी त्यहाँ सर्वसम्मत सिफारिस भएपनि एमालेले जसपासँग तालमेल गरेपछि उनी रिङआउट भएका थिए ।
पछिल्लो मतपरिणमअनुसार मण्डल ३ हजार ६९३ मत ल्याएर लिड गरिराखेका छन्। एमालेले सघाएको जसपाका राज कुमार यादवले ३ हजार २९४ मत ल्याएर पछ्याइरहेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शिवकुमार मंडल ३ हजार १२२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
उनी जीवन विकास समाज नामक लघुवित्तको पूर्वअध्यक्ष हुन् । २५ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशिल मण्डल २ वर्षअघि एमालेमा प्रवेश गरेका थिए ।
पार्टीविरुद्ध बागी उम्मेदवारी दिएपछि खड्का र मण्डल दुवैलाई एमालेले कारवाही गरिसकेको छ। तर, पार्टी नेतालाई कारबाही गरेर जसपालाई सघाएपछि जिल्ला तहमै असन्तुष्ट बनेका नेता तथा कार्यकर्ताहरुले पनि उनलाई सघाएका छन् ।
यस्तै, महोत्तरी ३ मा एमालेका बागी उम्मेदवार रामआधार कापरले अग्रता लिएका छन् । उनले लोसपाका अध्यक्ष ठाकुर ठाकुरलाई पछि पार्दै लिड गरेका हुन् ।
अध्यक्ष ठाकुरलाई एमालेका बागी बनेका कापरले पछिल्लो मतपरिणमनुसार १३ सय ४८ मतले पछि पारेका छन् । उनले अहिलेसम्म २८ सय ९३ मत ल्याउँदा ठाकुरले १५ सय ४५ मत मात्रै ल्याएका छन् । ठाकुरलाई सत्ता गठबन्धनको साथ छ ।
यस्तै, एमालेले समर्थन गरेको जसपाका हरिनारायण यादवले १३ सय २७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

Leave a Reply