काठमाडौं । सत्ता गठबन्धनको टिकट बाँडफाँटमा डोटीको प्रतिनिधिसभा सीट नेकपा एकीकृत समाजवादीको भागमा परेपछि नेपाली कांग्रेस डोटीभित्र निकै ठूलो विद्रोहको संकेत देखिएको थियो । पार्टीका जिल्लास्तरका केही ‘ठूला नेता’ नै बागी लड्ने घोषणा गर्दै डोटी फर्किएका थिए ।
यता नेकपा एसको टिकट भने पूर्वमन्त्री प्रेम आलेले लगेर गएका थिए । उनी टिकट हात लागेदेखि नै बागी उठ्ने घोषणा गरेका कांग्रेसका असन्तुष्ट नेता फकाउनतर्फ लागे । अन्तिम अवस्थामा पार्टीको ‘ठूला नेता’ले उम्मेदवारी दिएनन् । आले उनीहरूको बागी उम्मेदवारी ‘रोक्न’ सफल भए ।
काठमाडौंबाट विद्रोहको बिगुल फुक्ने नेताहरु दिपायल पुग्दा गलिसक्नुमा ‘आर्थिक चलखेल’सम्मको आरोप छ । ‘दुई चार लाखको बिटोले हानेपछि हाम्रा केही नेता नोमिनेसनको दिन बेहोस भएछन्’, कांगे्रेस कार्यकर्ताहरु भन्छन् ।
आले यसरी ठूला नेतालाई रोक्न प्रयास गरिरहँदा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमात्रै रहेका नरेन्द्र खड्काले ‘छापामार शैली’मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्र उम्मेदवारी दिइहाले । आलेलाई फसाद प¥यो । निकटस्थहरूका अनुसार खड्का उम्मेदवारी दर्तापछि फोन ‘स्विचअफ’ गरेर बसेका थिए ।
‘फोन स्विचअफ गर्नुको उद्देश्य दुइटा थिए । पहिलो- आले र कांग्रेसका केही नेता बसिदिनुप¥यो भनेर फोन गरेर हैरान पार्दै थिए’, स्वतन्त्र उम्मेदवार खड्काले भने, ‘दोस्रो- शुभेच्छुकहरूले कहीं तँ पनि बस्लास् भनेर फोन गरेर थर्काइरहेका थिए । यही कारण एकैचोटी चुनाव चिन्ह लिएर प्रचारमा जान्छु भनेर फोन स्वीच अफ गरेको हुँ ।’
फोन स्वीच अफ गरेर पनि उनले सुख पाएनन् । कांग्रेसका केही नेता र आले स्वयम् घरमै पुगेर अनुनय गर्न थाले । सोही क्रममा आफूलाई प्रलोभन पनि दिएको खड्का बताउँछन् ।
‘मेरो उम्मेदवारी कुनै वाद र गठबन्धनभन्दा माथिको हो । मैले यही कुरा उहाँहरूलाई भने’, खड्काले भने, ‘म राजधानी (सुदूरपश्चिम प्रदेशको राजधानी-दिपायल)को एजेण्डामा विगतदेखि संघर्ष गरिरहेको व्यक्ति हुँ । अघिल्लो निर्वाचनमा उहाँहरू पनि यही एजेण्डामा भोट माग्दै हुनुहुन्थ्यो । मैले प्रस्ट भने- अहिले नै राजधानी दिपायल तोकाउनुस् म उम्मेदवारी फिर्ता लिन्छु ।’
यसरी खड्काले अडान लिएपछि उनको उम्मेदवारी कायम छ । आयोगले ‘क्रस खुकुरी’ चुनाव चिन्ह दिएपछि उनी प्रचारप्रसारमा जुटिसकेका छन् ।
यता उनको उम्मेदवारी कायम रहेसँगै समर्थन व्यापक बढ्दै गएको छ । सुरूमा निरपेक्ष रहेका अधिकांश कांग्रेस कार्यकर्ता खड्काले चुनावी सक्रियता बढाएसँगै उनकै पक्षमा खुल्दै गएका छन् । आन्तरिक रुपमा जिल्लाका प्रभावशाली नेताहरू पनि गृहकार्यमा जुटिसकेका छन् ।
को हुन् खड्का, के हो एजेण्डा ?
स्वतन्त्र उम्मेदवार खड्का कांग्रेसका सामान्य कार्यकर्तामात्रै भए पनि सामाजिक पृष्ठभूमि भएका पात्र हुन् । २०२९ सालमा डोटीको गैरागाउँमा जन्मिएका खड्का शिक्षा आर्जनपछि गाउँकै एक विद्यालयमा शिक्षक थिए । शिक्षण सँगसँगै नेत्रेश्वरी युवा क्लब गठन गरेर विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न भए । त्यसक्रममा उनको क्लबले एक अन्तर्राष्ट्रिय दातृ संस्थासँग पनि सहकार्य गरेको थियो ।
यही कुरा तत्काल सशस्त्र संघर्षमा रहेको माओवादीलाई मन परेन । खड्का गाउँबाट लखेटिए । त्यसपछि विस्थापित भएर सुरक्षित स्थान खोज्दै दिपायलमा पुगेर उनले व्यवसाय थालेका थिए ।
व्यवसाय सँगसँँगै डोटी उद्योग वाणिज्य संघमा आवद्ध भएर व्यवसायिक हित प्रवर्द्धनका लागि काम गर्न थाले । सुरूमा उद्योग वाणिज्य संघको सदस्यमा हारेका उनी त्यसपछि दुई कार्यकाल महासचिव भएर अध्यक्ष बनेका छन् ।
यही क्रममा खड्काले अगुवाइ गरेर डोटीको औद्योगिक विकास, पर्यटन विकास, कृषि क्षेत्रको प्रवर्द्धन, युवा तथा खेलकुदको विकासका लागि काम गरेका छन् । यस्ता सामाजिक काममा उनले आफ्नो मेहनत प्रदर्शन गरेर स्थानीयस्तरमा लोकप्रियता कमाएका छन् ।
डोटी उद्योग वाणिज्य संघमा खड्का अध्यक्ष रहेकै वेला २०७४ मा सुदूरपश्चिम प्रदेशको राजधानीका लागि आवाज उठेको थियो । डोटीका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज, स्थानीय वुद्धिजीवी सबै बसेर राजधानीका लागि दबाबमूलक आन्दोलन गर्ने र त्यसको संयोजन साझा व्यक्तिका रूपमा खड्काले गर्ने निर्णय गरेका थिए । त्यही क्रममा खड्काकै नेतृत्वमा ६४ दिन दिपायलमा आन्दोलन भएको थियो ।
तर, त्यो आन्दोलनले फल दिएन । सुरूमा २०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी मुकाम धनगढी तोकिदियो । यसक्रममा डोटी कांग्रेसका सयौं नेता-कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका थिए ।
त्यसपछि पनि जारी रहेको आन्दोलनका कार्यक्रमहरूमा तत्काल सांसदमात्रै रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, तत्कालीन सांसदहरू पूर्णा जोशी, अर्चना गहतराज, भरत खड्का पनि सहभागी थिए ।
उता आलेले प्रतिनिधिसभामा निर्वाचन लड्दा नै ‘प्रदेश राजधानी दिपायल बनाउने र बनाउन नसके राजीनामा दिने’ भन्दै भोट मागेका थिए ।
२०७५ असोज १२ गते प्रदेशसभाको स्थायी राजधानी गोदावरी तोक्दा आन्दोलन गर्नेमध्येकै मुख्यमन्त्री भट्ट, सांसदद्वय जोशी र गहतराजले त्यसको पक्षमा मतदान गरेका थिए । आले संघीय सांसद भएकाले कुनै प्रतिक्रिया नदिई बसेका थिए । डोटीमा आले, मुख्यमन्त्री भट्ट, जोशी र गहतराजलाई ‘राजधानीसँग मन्त्री पद साटेको’ आरोप छ । हुन पनि त्यसपछि उनीहरू धमाधम मन्त्री बनेका थिए ।
अहिले यही कुरालाई खड्काले आफ्नो चुनावी एजेण्डा बनाएका छन् । उनले ‘डोटीको अस्तित्वसँग पद साँट्ने’ हरूविरुद्ध आफ्नो उम्मेदवारी रहेको भन्दै सन्देश प्रवाह गरिरहेका छन् । जुन कुरा दिपायल आसपास क्षेत्रका बहुसंख्यक जनताले समर्थन गरिरहेका छन् । योसँगै कांग्रेसका असन्तुष्ट नेता/कार्यकर्ताहरूले समेत उनलाई साथ दिइरहेका छन् ।
कस्तो छ समीकरण ?
डोटी चुनावी इतिहासमा सधैं कांग्रेसकै शक्तिशाली जिल्ला हो । २०१५ को आम निर्वाचनमा डोटीका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसका शिवराज पन्त निर्वाचित भएका थिए । २०३६ को जनमत संग्रहमा पनि डोटीबाट ‘सुधारिएको पञ्चायत’लाई ‘बहुमत’ले जितेको थियो भने बहुदलपछि २०४८ देखि २०५६ सम्म लगातार दुइटै क्षेत्र कांग्रेसले जितेको थियो ।
२०६४ को पहिलो संविधानसभामा प्रत्यक्षतर्फ दुइटै क्षेत्र कांग्रेसले गुमाए पनि समानुपातिकमा पहिलो दल नै बनेको थियो । २०७० मा पुग्दा डोटी क्षेत्र नम्बर १ मा पूर्वमन्त्री वीरबहादुर बलायर फराकिलो मतान्तरले जित्दा क्षेत्र नम्बर २ मा आलेले कांग्रेसका योगेन्द्र शाहीलाई झिनो मतले हराएका थिए । समानुपातिकमा कांग्रेस नै पहिलो दल थियो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट आले र कांग्रेसबाट बलायर भिड्दा झिनो मतले बलायर पछाडि परेका थिए । समानुपातिकमा कांग्रेस नै पहिलो दल बन्यो । प्रदेशसभाको एक सीट कांग्रेसका भरत खड्काले जित्दा अर्कोमा माओवादी केन्द्रका पछि मुख्यमन्त्री भएका भट्टले जितेका थिए ।
गएको स्थानीय तह निर्वाचनमा डोटी कांग्रेसको देशभरकै सबैभन्दा राम्रो नतिजा दिने जिल्ला हो । यहाँका ९ पालिकामध्ये ७ मा जितेको कांग्रेसले एकमा उपाध्यक्ष जितेको छ । ६५ वडामध्ये ३९ वटा कांग्रेसले जितेको छ ।
लोकप्रिय मतमा पनि सबै दलको जोडे पनि कांग्रेसलाई नपुग्ने मत छ । वडाध्यक्षका उम्मेदवारको मतअनुसार कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९१६, माओवादी केन्द्रको ७ हजार ७८९, नेकपा एसको ३ हजार २०५ र राप्रपाको ९८७ मत छ ।
अहिले आलेलाई सीट छाड्नुपर्दा यहाँ प्रतिनिधिसभामा कांग्रेस उम्मेदवारविहीन छ । कांग्रेस प्रदेशसभाको एउटामात्रै सीटमा खुम्चिएको छ । यस्तोमा निर्णायक रहेको कांग्रेस मतले यहाँको चुनावी गणितलाई रोचक बनाएको छ ।
स्वतन्त्र उम्मेदवार खड्काले कांग्रेसको बहुसंख्यक मत तान्नसके जीत सुरक्षित छ । हालसम्मको स्थिति हेर्दा आन्तरिक रुपमा कांग्रेसका अधिकांश मत उनले बटुल्ने स्थिति देखिएको छ । यसबाहेक उनी अन्य पार्टीको मत पनि तान्नसक्ने र तटस्थ मत पनि प्रभाव पार्नसक्ने व्यक्ति हुन् । एमालेका केही पुराना नेता नै उनको पक्षमा खुलेर लागेका छन् ।
उता आलेलाई पूर्ण रूपमा गठबन्धनकै भर छ । यद्यपि उनी आफै भने एमालेको ५० प्रतिशत मत तान्ने दाबी गरिरहेका छन् । जुन सहज छैन । उनको जीतहार कांग्रेसको मतमा निर्भर छ । खड्काको उम्मेदवारी र उनको पक्षमा बढ्दै गएको माहोलले आलेलाई ‘कर्नर’मा पुर्याउँदै लगेको छ । यद्यपि आर्थिक परिचालनका सिद्धहस्त खेलाडी आले त्यसको प्रयोगले आफू जीत दोहोर्याउने प्रयासमा छन् ।
उता खड्काको उम्मेदवारीले एमाले पनि हौसिएको छ । एमालेले गौरी वलीलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनको मत आले र स्वतन्त्र उम्मेदवार खड्कामा बाँडिँदा असम्भव देखिएको डोटीको सीट आफ्नो पोल्टामा पर्नसक्ने एमालेको बुझाइ छ । यदि एमालेले चक्र मल्ललाई प्रतिनिधिसभामा उठाएको भए उनी बलियो उम्मेदवार हुने थिए । यद्यपि मल्ल प्रदेशसभामा उम्मेदवार बनेकाले पार्टीभित्र समस्या नरहेको दाबी नेताहरुको छ ।
नरेन्द्र खड्कालाई बागी उम्मेदवार अथवा गठबन्धनको मत कटाउने उम्मेदवारका रुपमा बाहिरबाट हेरिए पनि डोटीको राजनीति बुझेका र यहाँ भिजेकाहरु भने उनलाई सम्भावित विजेताका रुपमा हेरिरहेका छन् । कांग्रेसको ८० प्रतिशत मत पाए भने नरेन्द्रको विजयलाई कसैले रोक्न सक्दैन ।

Leave a Reply