उजुरीबारे समयमा जवाफ नदिने म्यानपावर व्यवसायीलाई कारवाही गर्ने वैदेशिक रोजगार विभागको चेतावनी

काठमाडौं । म्यानपावर व्यवसायी विरुद्ध वैदेशिक रोजगार विभागमा परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारवाही गर्ने वैदेशिक रोजगार विभागले चेतावनी दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त संस्थाको विरुद्व विभागमा दर्ता भएका उजुरीबारे विभागवाट गरिने पत्राचार, आदेश तथा निर्देशनको केहि इजाजतपत्रवाला संस्थाले अटेर गरेको भन्दै विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतवानी दिएको हो ।

उजुरीको विषयमा माग गरिएको प्रमाणसहितको जवाफ तोकिएको समय भित्र पेश नहुँदा विभागले समयमै उजुरी फछ्यौट नसकेको भन्दै आफ्नो संस्था विरुद्व विभागमा दर्ता भएका उजुरी तत्काल फछ्यौट गरी व्यवसायिक कर्तव्य पुरा गरेर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने कार्यमा सहजिकरण गर्न विभागले यस्तो आग्रह गरेको हो ।

‘वैदेशिक रोजगार ऐन,२०६४ र यस ऐन अन्तर्गत बनेको नियम, आदेश वा निर्देशनको पूर्ण पालना गर्नु हुन सम्बन्धित सवैमा सूचित गरिन्छ । अन्यथा वैदेशिक रोजगार ऐन,२०६४ को दफा ५४ बमोजिम कारबाही भई जाने व्यहोरा समेत सम्बन्धित सवैमा सूचित गरिन्छ ।’ विभागका निर्देशक एवम सूचना अधिकारी कृष्णप्रसाद भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नेपाल सरकारबाट वैदेशिक रोजगारका लागि खुला गरिएका श्रम गन्तव्य मुलुकमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली,२०६४ को प्रावधान बमोजिम कामदार छनौटका प्रकृया पुरा गरी श्रम गन्तव्य मुलुकमा कामदार पठाउने प्रयोजनका लागि म्यानपावर व्यवसायी विभागमा दर्ता भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *