गण्डकीमा ट्वीस्ट : खगराजलाई प्रदेशमा उठाइने, पिएसलाई प्रतिनिधिसभामा लड्न दबाब

पोखरा । नेकपा एमालेका नेता खगराज अधिकारीले गत साता पोखरामा पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै आफू प्रदेशमा नलड्ने बताए । आफू केन्द्रीय राजनीतिमै खुसी भएकाले प्रतिनिधिसभामै उठ्न चाहेको उनको भनाइ थियो ।

प्रदेशमा पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उप-महासचिव पृथ्वीसुब्बा गुरुङलाई नै उठ्न दिएर मुख्यमन्त्री बन्ने बाटो खोल्न उनी तयार रहेको बताएका थिए । ‘म केन्द्रीय राजनीतिमै खुसी छु । म के भन्छु भने पिएस (पृथ्वी सुब्बा) प्रदेशमा उठ्नुहुन्छ भने म प्रदेशमा उठ्दिनँ,’ उनले भनेका थिए ।

पार्टी उपमहासचिव गुरुङ पनि प्रदेशमै लड्न इच्छुक छन् । उनी प्रदेशमै आएर सरकार सञ्चालनमा लाग्ने र आफूले थालेका काम पूरा गर्ने सार्वजनिक भाषण समेत दिइसकेका छन् ।

तर यी दुई नेता अहिले आफूले रोजेको ठाउँमा चुनाव लड्न नपाउने देखिएका छन् । एमालेले खगराजलाई प्रदेशमा र पृथ्वीसुब्बालाई प्रतिनिधिसभाको चुनाव लडाउने बताइएको छ ।

खगराज अधिकारी निकट स्रोतका अनुसार खगराज अहिले प्रदेशसभामा लड्ने लगभग ‘फिक्स्ड’ नै छ । खगराज प्रतिनिधिसभामै लड्न चाहेपनि पार्टी अध्यक्ष केपी ओलीेले गण्डकीमा दुई नेताको ‘पावर सेयरिङ’ व्यालेन्स गर्न अहिले खगराजलाई प्रदेशमा उठाउन लागेको स्रोत बताउँछ । ‘उहाँ(खगराज अधिकारी) प्रतिनिधिसभामै लड्न चाहनुहुन्थ्यो, तर पार्टीले अहिले प्रदेशमा उठाउने लगभग फिक्स नै छ,’ स्रोत बताउँछ ।

खगराजको क्षेत्रबाट एमालेले नेकपा एमालेका कास्की अध्यक्ष मनबहादुर गुरुङलाई चुनाव लडाउन लागेको छ । गण्डकी प्रदेशसभा सदस्य रहेका गुरुङलाई एमालेले प्रतिनिधिसभामा लडाउन लागेको छ । उनको नाम केन्द्रमा लड्न् गरि चलेपनि परिवर्तन हुन सक्ने भन्दै अहिले गण्डकीका एमाले उम्मेदवारको नाम दिइएको छैन ।

‘कास्की १ बाट हालसम्म मनबहादुर गुरुङले चुनाव लड्ने कुरा छ । रातभर परिवर्तन नभए खगराजको ठाउँमा मनबहादुर प्रतिनिधिसभामा उठ्ने पक्कापक्की नै छ,’ स्रोत भन्छ, ‘नाम भोलिसम्ममा परिवर्तन हुन सक्ने भएकाले गण्डकीको नामावली सार्वजनिक भएको छैन ।’

यता पृथ्वीसुब्बा गुरुङ भने प्रतिनिधिसभा चुनाव लड्न अनिच्छुक छन् । उनी जुनै हालतमै प्रदेशमै चुनाव लड्न चाहन्छन् । प्रतिनिधिसभामा लड्न लगाइए बरु चुनावै नलड्ने मनस्थितिमा पृथ्वीसुब्बा छन् ।

‘पृथ्वीसुब्बाको इच्छा प्रदेशमै काम गरौं भन्ने हो । प्रदेशमा थालेका काम बाँकी नै छन्, जुन स्पिरिटमा काम गण्डकीमा भएको थियो, त्यसैलाई धानौं भन्ने उहाँको कुरा हो,’ पृथ्वीसुब्बा निकट एमाले गण्डकीका नेता भन्छन्, ‘प्रतिनिधिसभामा उठाए चुनावै नलड्ने मनस्थिति उहाँको छ ।’

पृथ्वीसुब्बालाई एमाले नेतृत्वले प्रतिनिधिसभामै चुनाव लड्न दबाब दिए लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा र माओवादी महासचिव देव गुरुङबीच भिडन्त हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *