पाल्पा २ मा नेकपा एसबाट सोम पाण्डे सिफारिस, प्रदेशसभामा को-को परे ?

रुपन्देही । नेकपा एकीकृत समाजवादी पाल्पाले क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सोमप्रसाद पाण्डेको नाम सिफारिस गरेको छ ।

सिफारिसमा परेका पाण्डे नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन् । उनी पार्टी अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । पाण्डे अहिले पनि यही क्षेत्रबाट सांसद रहेको र नेतृत्वसँग पहुँच भएकाले गठबन्धनमा उनको सीट सुरक्षित रहेको एसका नेताहरूको दाबी छ ।

यसैगरी एकीकृत समाजवादीको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ भने प्रदेशतर्फ महिला अल्पसंख्यकमा रमा घर्तीमगर, दलितमा बलबहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको छ ।

तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा सिफारिस गरेको जिल्ला कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए ।

पाण्डे २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा २ मा एमालेबाट विजयी भएका थिए ।

यहाँ नेपाली कांग्रेसले पनि दाबी गर्दै आएको छ । सो क्षेत्रमा दाबी गर्दै नेपाली कांग्रेस पाल्पाको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *