१६५ क्षेत्रमा गठबन्धनको बाँडफाँट- कसको दाबी कति सीटमा ?

काठमाडौं । प्रतिनिधिसभाका १६५ सीट र सातै प्रदेशका ३३० निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदललाई दिएको समय सकिए पनि मुख्य विषयमा प्रवेश नै गर्न सकेको छैन ।

कृष्ण सिटौला नेतृत्वको कार्यदललाई शीर्ष बैठकले साउन मसान्तसम्मको अवधि दिएको थियो । तर, त्यस अवधिमा तीनवटा औपचारिक बैठक भए पनि कसले कति सीट पाउने भन्ने टुंगो लागेको छैन । सिटौलाले शीर्ष नेतासँग भेटेर सबै दलको आ-आफ्नो दाबी सुनेपछि प्रस्ताव बनाउने बताइएको थियो ।

कार्यदलले सामान्य मापदण्डबाहेक बाँडफाँट टुंगो लगाउन नसकेपछि बिहीबार बसेको पाँचदलीय गठबन्धनको शीर्ष बैठकमा नेताहरूले आ-आफ्नो पार्टीको दाबी प्रस्तुत गरेको बताइएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपालाई गठबन्धनको सदस्य बनाउने कि नबनाउने भन्नेबारे टुंगो लागेको छैन ।

माओवादीको चिन्ह लिएर चुनावमा भाग लिन लागेका बाबुराम भट्टराई र वामदेव गौतमको पार्टीलाई गठबन्धनको हिस्साबाट सीट दिने कि माओवादीको कोटाबाट दिने भन्ने पनि टुंगो लागेको छैन । यद्यपि बाबुराम र महिन्द्रा राय भने प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूलाई गठबन्धनकै हिस्सा मानेर सीट छुट्याउने समझदारी बनेको बताइएको छ ।

दलहरूले आ-आफ्ना दाबी प्रस्तुत गरे पनि सीट संख्या बाँडफाँट गर्दा अन्तिममा सबैले दाबी गरेका धेरै सीटहरू छाड्नुपर्ने देखिएको कार्यदलका सदस्य हिमलाल पुरी बताउँछन् । लोसपाबाहेक गठबन्धनका सात घटकको दाबी २३७ सीट पुगेको छ । जबकि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सीटमात्र छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले १०० सीट दाबी गरेको छ । गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै दबाब छ । यद्यपि माओवादी स्रोतले भने कांग्रेसले बढीमा ८० सीटमात्र पाउने दाबी गरेकाे छ ।

गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सीटमा दाबी गरेको छ । स्थायी कमिटीको बुधबारको बैठकमा ६० सीटको दाबी गर्ने अनौपचारिक छलफल चलेको थियो । माओवादीले ६० सीट दाबी गरे पनि उसले ४५ देखि ५० सीटमा चित्त बुझाउनुपर्ने देखिन्छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि ३७ देखि ४० सीट दाबी गरेको सम्मानित नेता झलनाथ खनालले बताए । स्थानीय चुनावको परिणाम र एमालेको विद्रोही शक्ति भएकाले एमाले हराउन आफूहरूले सम्मानजनक सीट पाउनुपर्ने उनीहरूको भनाइ छ । यद्यपि गठबन्धनमा भागबन्डा हुँदा नेकपा एसको भागमा १५ देखि २० सीटको बीचमा पर्ने नेताहरूले बताएका छन् ।

गठबन्धनको अर्को घटक जसपाले पनि ३० देखि ३५ सीट दाबी गर्ने राजनीतिक समितिका सदस्य आङकाजी शेर्पाले बताए । तर, गठबन्धनका नेताहरू भने जसपाको भागमा १० सीटको हाराहारी पर्ने बताउँछन् । लोसपा गठबन्धनमा सामेल हुँदा उसको सीट अझ खुम्चिन सक्छ ।

गठबन्धनको अर्को घटक बनेको बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि ४ सीट दाबी गरेको छ भने वामदेव गौतमले आफ्नो लागि एक सीट मागेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि प्यूठान र बागलुङ वा अर्घाखाँचीमध्ये एक सीट मागेको छ । तर, उसको भागमा एक सीटमात्र पर्ने निश्चित छ ।

दलहरूका सबैका दाबीपछि कार्यदल संयोजक सिटौलाले कार्यदलबाटै पारित मापदण्डभित्र रहेर मस्यौदा प्रस्ताव ल्याउने र त्यसपछि छलफल गरेर शीर्ष बैठकमा पेस गरिने कार्यदल सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Comments

3 responses to “१६५ क्षेत्रमा गठबन्धनको बाँडफाँट- कसको दाबी कति सीटमा ?”

  1. ksp pyl Avatar
    ksp pyl

    राष्ट्र बनाउने सोच नै छैन गठबन्धनको। एमाले हराउने , विदेशीको इशारामा काम गर्ने र देश लुट्ने भन्दा अरू सोच नै देखिएन। एमाले सबैभन्दा बलियो भएकोले र राष्ट्रवादी भएकोले विदेशीले रुचाएका छैनन। तर नेपाली जनतालाई आग्रह गएको एक वर्षमा देशको हालत र त्योभन्दा एक वर्ष अघिको देशको अवस्था सम्झेर मत हालौं। अन्यथा दुख पाइन्छ।

    1. Krishna chand Bohara Avatar

      देश बनाउनु भन्दापनि जसरिपनि सत्तामा जानुपर्ने अनि देश लुट्नु पर्ने देश लुटुवाहरु यदि देशको माया छ भने भरौटे हरु पार्टी केकालागि बिचार फरक छ सिद्धान्त फरक छ देश बनाउने बाटा फरक छन् त्यसैले बांठिचुठि खानाको लागि राजनीतिक दलका नेताहरुले जनतालाई अल्मलमा पार्नु हुँदैन आफ्नो विचारमा अगाडि बढ्नुपर्छ देश कस्ले बनाउन्छ जनताले बुझेका छन्

  2. Prakash M. Shrestha Avatar

    मेयर साप , शान्त, सन्तुलित र सैयम रहेर सहकार्यलाइ अंगालेरै अगाडी बढ्दा राम्रो होला हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *