संसदीय समितिले माग्यो चिनी उद्योगका श्रमिकको बक्यौता विवरण

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले उखु किसानको रकम रकम भुक्तानी नगर्ने चिनी उद्योगका मालिकहरुलाई कारवाही गर्न खोज्दा उनीहरुलाई नपक्रन पार्टीका नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा बिहीबार उखु किसानको समस्याबारे छलफल गर्न उपस्थित भएका मन्त्री भट्टले नेताहरुको नाम नलिए पनि सामाजिक सन्जालमा चर्का कुरा गर्ने नेताहरुले उद्योगीलाई पक्राउ नगर्नु भन्दै फोन गर्ने गरेको बताए ।

यद्यपि सरकार उखु किसानको रकम तिराउन दृढ रहेको र चिनी उद्योगमा कार्यरत श्रमिकको बारेमा पनि सरकार गम्भीर रहेको बताए । उखु किसानहरु यो कृषि व्यवसायबाटै पलायन हुन्छन् कि भन्ने चिन्तामा आफू रहेको मन्त्रीको भट्टले समितिमा बताए ।

यसैबीच उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले एक साताभित्र उखु किसानको रकम भुक्तानी भएको विवरण सहित अर्को हप्ता बस्ने बैठकमा उपस्थित हुन मन्त्रीलाई निर्देशन दिएको समितिका सदस्य नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले नेपाल प्रेसलाई बताए ।

श्रेष्ठले भने–मन्त्रीले दुई चार दिन उद्योगपतिलाई नथुन्न टेलिफोन आएको भन्नुभयो तर सरकार किसानलाई न्याय दिलाउन दृढ छ । एक साताभित्र किसानको रकम भुक्तानी गराउन र चिनी उद्योगहरुमा रहेका श्रमिकहरुको पनि बाँकी बक्यौता छ भने त्यसको विस्तृत विवरण १५ दिनभित्र उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *