भक्तपुरमा रोकिएको गुँला ङक धलं यस वर्ष आयाेजना हुने (भिडिओ)

भक्तपुर । भक्तपुरमा गुँला पर्वका अवसरमा सवा लाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने भएको छ ।

विभिन्न कारणले रोकिएको धार्मिक कार्य पाँच वर्षपछि भक्तपुरका साकोलान टोलका मानन्धर समुदायले आयोजना गर्न लागेकाे हाे ।

गुँला ङक धलं व्यवस्थापन समितिले बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै छुट्टै पहिचान बोकेको सवा लाख चैत्य बनाउने धार्मिक कार्य (गुँला ङक धलं) लाई यस वर्ष भक्तपुरका मानन्धर समुदायले आयोजना गर्ने जानकारी दिएको हो ।

सुरुका समयमा प्रत्येक वर्ष आयोजना गरिएको भए पनि पछिल्लो समय मानव संशाधन, बजेट तथा अन्य समस्याले गर्दा निरन्तरता पाउन सकेको छैन । तर, पाँच वर्षपछि पुनः धार्मिक कार्यक्रमको आयोजना गरिने समितिका सचिव रामकृष्ण मानन्धरले जानकारी दिए ।

परापूर्व कालदेखि मानन्धर समुदायले गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्वमा मनाउने गुँला ङक धलं यसपालि साउन १३ देखि भदौ १२ गतेसम्म भक्तपुर- ९ साकोलान टोलको धार्मिक कार्य आयोजना गरिने सचिव मानन्धरले जानकारी दिए ।

गुँलाको पहिलो मंगलबार सूर्यविनायक देवस्थलमा गुँला नौबाजा बजाउन जाने गरिन्छ । शनिबार अष्टमात्रिका देवस्थलहरुमा बाजा बजाएर जाने गरिन्छ । सापारुको दिनमा व्रतपूजा सकाएर व्रतालुहरु र नौबाजासहित नामसंगति स्तोत्र धर्मग्रन्थ खटमा राखी चारजनाले बोकी नौबाजा बजाई नगर परिक्रमा गर्ने गर्दछन् ।

भाद्र शुक्ल प्रतिपदाको दिनमा पूजा विधि सकाएर एकमहिना स्तोत्र पाठ गरी बनाएको सवा लाख चैत्य नौबाजा बजाई हनुमानघाटमा बिसर्जन गरी गुँला धलं समापन गरिने प्रचलन रहेको समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *