काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू अहिले पनि राजावादी भएको बताएका छन् । आफ्नो पार्टी रोजेकालाई भित्र्याउँदै थापाले आफूमा अहिले पनि राजा र राज संस्थाप्रति माया रहेको बताएका हुन् ।
‘ राजा र राजसंस्थाप्रति माया छ’ उनले भने ‘आफूलाई राजावादी भन्नेहरूलाई भन्छु म अहिले पनि एक इन्च उनीहरूभन्दा आफूलाई कम राजावादी ठान्दिनँ ।’
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि निर्मल निवासको चलखेल बढेको भन्दै थापा रुष्ट भएका थिए । तर, उनले आफ्नो पार्टीको नीतिमा अहिले राजसंस्था पुन:स्थापनाको एजेन्डा नसमेटेको बताए ।
पृथ्वीनारायण शाहलाई आदर्श पुरुष र उनको दिव्य उपदेशलाई पार्टीको दर्शन सिद्धान्तको रूपमा लिएको बताउने थापाले राज संस्था पुन स्थापनाको एजेन्डा कार्य नीतिमा नराखिएको प्रष्ट्याए पारे । त्यसका विषयमा उपयुक्त समयमा निकास खोजिने उनको भनाइ छ ।
सनातन हिन्दू राष्ट्र पुन:स्थापना गर्न आवश्यक रहेको भन्दै थापाले शासकीय स्वरूप र संरचनामा पनि परिवर्तन गर्नुपर्ने टिप्पणी गरे ।
‘परम्परागत शैलीको संसदीय प्रजातन्त्रको विकल्पमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री उपयुक्त हुन्छ’ उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दुई तहको सरकार अहिलेको आवश्यकता हो ।’
केन्द्रमा एउटा सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बलियो सरकार बनाएर प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका थिए ।
फरक प्रसंगमा थापाले दिल्लीमा गरिएको १२ बुँदे सहमति कार्यान्वयन गराउन देशी विदेशी शक्तिहरू लागेको आरोप लगाए । उनीहरूकै दबाबमा सनातन धर्म, एकात्मक राज्य प्रणाली र राज संस्था मासिएको थापाको दाबी छ ।
‘ हामीले २०७३ सालपछि बाटो बिरायौँ । फलस्वरूप २०७४ को चुनावमा पार्टी ठूलो होला भनेको त अत्यन्त निराशाजनक परिणाम भोग्नु परे । करिब ५ वर्ष राष्ट्रिय राजनीतिमा भूमिकाविहीन भयौँ उनले भने, बिगतका त्रुटि र कमीकमजोरी सच्याएर नयाँ ढङ्गबाट हिँड्नु पर्ने अवस्था आयो । स्वार्थी लोभी-पापीहरूको कारणले गर्दा हामी नै पार्टीबाट विस्थापित भयौँ । ’
थापाले संघीय निर्वाचनको चर्चा सुरु भएसँगै विदेशी शक्तिहरू पनि सक्रिय भएको बताए ।
‘चुनाव नजिक आइरहेको छ । अहिले विदेशी शक्तिहरू स्वार्थ परिपूर्ति गर्ने पात्रको खोजीमा छन् । नेपाल भित्रै पनि सत्तामा पुग्नको निमित्त बाह्य शक्तिको आशीर्वाद माग्दे प्रवृत्ति हाबी भइरहेको छ’ उनले भने, ‘दिल्ली र बेइजिङ पानी पर्दा नेपालमा छाता ओढ्नेहरूको खोजी भइरहेको छ ।

Leave a Reply