काठमाडौं । अभियन्ता तथा लेखक साहित्यकार संगीत श्रोता र उनीबाट यौन हिंसामा परेकी अर्की अभियन्ता तथा लेखकबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका भनिएका तीन जना लेखक/अभियन्ताले आफूहरूले कुनै पक्षमा नलागी उनीहरूको आग्रहमा साक्षी मात्र बसेको प्रस्ट परेका छन् ।
लेखक तथा पत्रकार राजेन्द्र महर्जन, अभय श्रेष्ठ र अभियन्ता धनकुमारी सुनाले शनिवार विज्ञप्ति जारी गर्दै महिलाकै पटक पटकका अनुनय र आग्रहपछि असार १४ गते दुवै जनाका कुरा एकसाथ सुनेको तथा उनीहरू आपसमा सहमतिमा पुगेको जनाएका छन् ।
नेपाल प्रेसमा प्रतिरोध अभियानका अभियन्ता तथा आफूलाई सामाजिक न्यायको पक्षधर जोदाहा भन्न रुचाउने संगीत स्रोतामाथि सोही अभियानकी अर्की अभियन्ताले लगाएको यौन हिंसाको अभियोग र त्यसलाई मध्यस्थकर्तामार्फत गुपचुप मिलाइएको घटनाबारे समाचार प्रकाशन भएको थियो ।
त्यसप्रति आपत्ति जनाउँदै महर्जन, सुनार र श्रेष्ठले आफूहरू कुनै पनि पीडित वा प्रभावितको पक्षमा रहेको जानकारी समेत गराएका छन् । आफूहरूको चरित्रहत्या गर्ने खालको भ्रामक समाचार प्रकाशन गरिएको भन्दै उनीहरूले विज्ञप्तिमा आपत्ति जनाएका छन् ।
तर नेपाल प्रेसले समाचार प्रकाशनकै बेला अभय श्रेष्ठको प्रतिक्रिया समेत राखेको छ भने विज्ञप्तिमा संगीत श्रोता र अर्की लेखक महिलाबीचको सहमतिमा आफूहरू साक्षी बसेको स्वीकार गरेका छन् ।
यो पनि पढ्नुहाेस् : प्रतिरोधका कमाण्डरमाथि यौन दुर्व्यवहारको आरोप, प्रतिष्ठित लेखिका नै होस्टायल !
विज्ञप्तिमा भनिएको छ– हामी तीन जनाले आरोपक महिलाकै पटक–पटकका अनुनय र आग्रहपछि असार १४ गते मङ्गलवार आरोपक र आरोपित दुवै जनाका कुरा एकसाथ सुनेका थियौँ । त्यस क्रममा एक पक्षले आरोप लगाइसकेको स्थितिमा घटना सत्य–असत्य जे भए पनि, आफ्नोतर्फबाट कमी कमजोरी भएको भए, त्यस क्रममा पक्षले अनुभूत गरेको दुःख–पीडालाई ध्यानमा राख्दै विपक्षले माफी माग्ने र विपक्षले माफी मागिसकेको स्थितिमा पक्षले माफी दिने सहमति भएको थियो । आरोपक र आरोपितबीच एक एक शब्दमा भएको संवाद, सम्पादन र सहमतिमा हामी तीन जना कुनै पनि पक्षको पक्षपाती नभईकन साक्षी बसेका थियौँ । हाम्रो तीनै जनाको तर्फबाट आरोपकको मुखमा बिर्को लगाउने र घटनालाई गुपचुप गर्ने गराउने कुनै पनि प्रयास भएको थिएन ।
सामान्य महिलाले बयान फेर्दा संरचनात्मक विभेद र पितृसत्तात्मक दमनका कारण होस्टायल भएको भन्दै जुलुस लगाउने प्रतिरोध अभियानका अभियन्ताहरू नै यौन हिंसाको घटना गुपचुप पार्न संलग्न रहेको तथ्यका आधारमा नेपाल प्रेसले समाचार प्रकाशन गरेको हो । यसमा तीन जना मध्यस्थकर्तामाथि कुनै आरोप लगाइएको छैन ।

Leave a Reply