गुणस्तरहीन खानेपानी विक्री वितरण गर्ने ललितपुरको एक पानी उत्पादक कम्पनीलाई तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अयोग्य खानेपानी विक्री वितरण गरेको भन्दै ललितपुरको एक पानी उत्पादक कम्पनीलाई ३ लाख जरिवाना तिराएको छ ।

विभागलाई प्राप्त उजुरीका आधारमा ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अन्नपूर्ण इन्डष्ट्रिज (मिनरल वाटर उत्पादक) कम्पनीलाई ३ लाख जरिवाना गराइएको विभागले जनाएको हो ।

उक्त कम्पनीद्वारा उत्पादित पानीको नमुना सङ्कलन गरी परीक्षणको लागि यसै महिनाको १० गते सम्बन्धित निकायमा पठाइएको थियो । १६ गतेको प्राप्त परीक्षण प्रतिवेदन बमोजिम पानीको गुणस्तरभन्दा घटी बढी भई खान अयोग्य देखिएको थियो । त्यसै अनुसार सोमबार उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको भन्दै ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गराउनुका साथै उक्त उद्योगबाट उत्पादित परीक्षणका लागि पठाएको ब्याच नम्बरका सबै मिनरल वाटर उत्पादकलाई बजारबाट फिर्ता गर्न पनि लगाइएको छ ।

साथै उद्योगबाट उत्पादित पानीको गुणस्तर सम्बन्धित निकायबाट परीक्षण गरी गुणस्तर कायम भएको प्रमाणपत्र पेस नगरेसम्म उक्त उद्योगबाट उत्पादित वस्तु रोक्का राखी उद्योगलाई सिलबन्दी गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,विभागका प्रवक्तासमेत रहेका निर्देशक हरि पंगेनीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार विभागले आफ्नो नियमित कार्यका अतिरिक्त बजार अनुगमन गर्ने कार्यलाई उच्च प्राथमिकता राखी अनुगमन गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *