मेरो नाम बिनु यादव । घर सिरहा हो । तर, बुवाको जागिरका कारण म सोलुखुम्बुको नेलेमा हुर्किएँ, बढेँ र पढेँ । पछि काठमाडौं आएँ ।
म काठमाडौंमा पढिरहेकी थिएँ र काम पनि गरिरहेकी थिएँ । एकदिन रामेछाप, मन्थलीका प्रदीप कठायतसँग मेरो साथी सुदर्शन थापामार्फत भेट भयो । प्रदीप क्वेस्ट इन्टरनेशनल कलेजमा पढ्थ्यो । ठिमीमा पनि उसको घर थियो । हामी चाँडै साथी भयौं । नियमित कुराकानी हुन थाल्यो । ऊ मेरोबारेमा एकदमै चासो लिन्थ्यो । मलाई केयर गर्थ्याे । मैले फोन उठाइनँ या बिरामी भएँ भने कलेज छाडेर भेट्न आउँथ्यो ।
मेरो बाबा बितिसक्नुभयो । उहाँ सरकारी जागिरे हुनुहुन्थ्यो । आमा अक्सिजनको सहारामा बाँचिरहनुभएको छ । उहाँ पनि सरकारी जागिरे हुनुहुन्थ्यो । भाइ र बहिनी सानै छन् । बुवा र आमाको पेन्सनबाट घर चलिरहेको छ ।
२०७५ सालमा मैले साथीहरुसँग सल्लाह गरेर जापान जाने तयारी गरेकी थिएँ । सबै डकुमेन्ट रेडी थियो । तर, उसले बाहिर नजान सल्लाह दियो । मलाई धेरै माया देखाउँथ्यो । त्यसैले उसको सल्लाह मानेँ ।
त्यसबेलासम्म हामी रिलेसनमा बसेको दुई वर्ष भइसकेको थियो । हामीबीच नियमित शारीरिक सम्बन्धसमेत हुन्थ्यो । उसले ठिमीमा रहेको आफ्नो घरमै लगेर शारीरिक सम्बन्ध राख्थ्यो । हरेक शुक्रबार लान्थ्यो, आइतबार मलाई कपनमा छाडिदिन्थ्यो । उसको परिवारको मसित र मेरो परिवारको ऊसित राम्रो चिनजान भइसकेको थियो ।

यसैबीचमा म प्रेगनेन्ट भएँ । मैले सुरुमा उसलाई नै बताएँ । उसले बच्चा फाल्नुपर्छ भन्यो । अहिले विवाह गर्ने वेला भएको छैन भनेर एबोर्सन गर्ने सल्लाह दिँदा मैले मानिनँ । बच्चा पेटमा आएपछि फाल्नु हुँदैन भनेँ ।
२०७५ साल चैत १९ गते अफिसबाट घर जाँदै गर्दा मलाई गाह्रो भयो । रातभर सुत्न सकिनँ । बिहानै टिचिङ अस्पताल जाँदा थाहा भयो, बच्चा पाठेघरको देब्रो नलीमा गएर बसेको रहेछ । अप्रेसन नगर्दा मेरो ज्यानै जाने अवस्था आयो । त्यसपछि अप्रेसन गरियो ।
मेरी आमाले सबै उपचार खर्च व्यहोर्नुभयो । प्रदीप मन्थलीमा थियो । मैले बोलाएपछि ऊ आयो । मैले २० गते अप्रेसन गरेँ । ऊ २१ गते आयो । २२ गते बच्चा आफ्नो हो भनेर उसले कागज गर्यो । त्यसपछि मलाई सिनामंगलको होटेलमा लगेर राख्यो । त्यहाँ दुई दिनसम्म बसेँ ।
मेरो पेटमा ९ टाँका लगाइएका थिए । २४ गते टाँका फुकाउने भनिएको थियो । त्यसै दिन बिहानै ७ बजेतिर ऊ आयो । म शरीर पनि चलाउन नसक्ने अवस्थामा थिएँ । त्यस्तै अवस्थामा पनि उसले मसित जबरजस्ती यौनप्यास मेट्यो । उसले जबरजस्ती रेप गर्दा मेरो पेटबाट टाँकाहरु नै खुस्कियो । म धेरै रोएँ । पछि अस्पताल गएँ ।

उसले फकाएर भन्यो, ‘भर्याङबाट लडेको भन है ।’ मैले अस्पतालमा उसले जे भनेको थियो, त्यही भनेँ । त्यसपछि उसले मलाई जडिबुटीको होटलमा राख्यो । घरमा कुरा गर्छु भन्यो । त्यसपछि ऊ हरायो ।
मसँग पैसा थिएन । मैले काम गर्ने अफिसको चाबी मसँग थियो । जतिवेला फुर्सद भयो, त्यहाँ जान्थेँ । मलाई घर जान अप्ठ्यारो लाग्यो, आमालाई के भन्ने ! अनि रुँदै अफिसमा १५ दिनसम्म बिस्कुट र चिया पिएर बसेँ ।
लगत्तै पछि फेसबुकमा देखेँ, प्रदीपले त नगरकोटतिर गएर केटीसँग रमाइलो गरेको फोटो हालेको रहेछ । त्यसपछि मैले ऊसँग फेसबुक आइडी मागेँ । सुरुमा दिएन । मैले झगडा गरेपछि दियो । झुक्किएर केटीसँगको च्याट डिलिट गर्न बिर्सेको रहेछ । मलाई यत्तिकै छाडिदिएर त्यो केटीसँग बिहे गर्ने उसको योजना मैले थाहा पाएँ ।
त्यसपछि मेरो टाउको रन्थनियो । म प्रयोगमात्रै भएको थाहा भएपछि सहनै सकिनँ । त्यसपछि न्याय खोज्दै भौतारिन थालेँ । बौद्ध, चक्रपथ, कपन प्रहरी चौकीमा गएँ । उनीहरुले महिलाको केस भएकाले टेकु पठाए । टेकुले कालीमाटी पठायो । मैले आफूमाथि जबरजस्ती करणी भएको जाहेरी दिएँ ।
सुरुमा त मैले उसको परिवारको सम्पर्कमा जान चाहेको थिएँ । तर, परिवारले ‘इग्नोर’ गर्यो । ठिमीमा उसको घर पनि गएको थिएँ । उसको मामाले मलाई धम्क्याए ।
‘तँ जस्तो केटी कति राखेको छ, के सक्छस् गर ! हामी पैसावाला मान्छे हो । तँ पैसामा बिक्ने मान्छे हो’, भनेर धम्याएपछि म रुँदै फर्किएँ ।
त्यसपछि मैले कालीमाटीमा किटानी जाहेरी दिएको हुँ । मेडिकल टेस्ट पनि भयो । प्रदीपको अर्को मामा डीएसपी रहेछन् । मैले जाहेरी दिएको थाहा पाएपछि डीएसपी मामाले पटकपटक मलाई पैसाको प्रलोभन दिए । मैले नमानेपछि ज्यान मारिदिने धम्कीसमेत दिए । अनि मैले भनेँ, ‘मलाई मारे पनि मार, यो केटाले मेरो जिन्दगी बर्बाद पारिदिएकै हो । भागेर लुकेर उन्मुक्ति पाउँदैन ।’

कालीमाटीमा जाहेरी दर्ता गर्ने ठाउँमा गीता थापा म्याम हुनुहुन्थ्यो । डीएसपीले उहाँलाई फोन गरेर ‘त्यो बलात्कार होइन, सहमतिमा भएको हो’ भनेर मेरै अघि भने । तर, एकपटक त मेरो बलात्कार भएकै थियो, त्यो पनि बिरामी अवस्थामा । मैले सबुद प्रमाण लिएर गएपछि दर्ता गरे ।
प्रदीपलाई मेरो कोठा थाहा थियो । एक दिन डीएसपी मामा सिल्भर कलरको कारमा चढेर सिभिल ड्रेसमा मेरो कोठामै आए ।
भाइ र बहिनी कलेज गइसकेका थिए । म अफिस जान लागेकी थिएँ । मेरो कोठामा पसेर हातमा पेस्तोल खेलाउँदै उनले भने, ‘म तेरो भाइलाई दश वर्ष जेल हालिदिन्छु । केटाहरु कसैलाई भन्यो भने त्यसको ब्यागमा हेरोइन, चरेस हालिदिन्छन् । पक्रेर थुनेपछि पुलिस केस हुन्छ । तेरो बहिनी यो कलेजमा पढ्छ । साँझमा घर फिर्छ कि फिर्दैन, बाटोमा गाडीले हान्यो भने के हुन्छ ?’
डीएसपीको कुराले मम्मी एकदमै रुनुभयो । आमाले मलाई भन्नुभयो, ‘तेरो कारणले भाइबहिनीलाई केही भयो भने जिन्दगीभर तेरो अनुहार हेर्दिनँ ।’
उनले साँझसम्म मुद्दा फिर्ता लिनेबारे सोच्नू भने । भोलिपल्ट प्रदीपको बुवा, मामा, मेरो साथी सुदर्शन थापा र प्रदीप आएर हामीलाई सिल्भर कलरको गाडीमा अपहरण शैलीमा लगे । पुलिसलाई खबर गर्लास् भनेर धम्की दिए । हामीले चाहेर पनि प्रहरीलाई खबर गर्न सकेनौं ।
हामीलाई कालीमाटी पुर्याइयो । मलाई कागजमा सिग्नेचर गर्न लगाइयो । त्यो पेपरमा के लेखेको छ भनेर थाहा पनि छैन । सायद जाहेरी फिर्ताको कागज थियो । अनि हामीलाई चाबहिलमा छाडिदिए ।
त्यसको दश दिनपछि २०७६ साल जेठ १९ गते मलाई ठिमीको घरमा लिएर गए । त्यहाँ मलाई घरभित्रै थुनेर राखियो । आफन्तहरु आउने, कुरा गर्ने गर्थे । तर, मलाई चाहिँ बाहिर निस्किन नदिने । अन्तिममा बुवा र मामाले प्रदीप र मेरो विवाह गराइदिए । मेरो परिवारको सदस्य र आफन्त कोही पनि नबोलाइकन मंसिर २५ गते विवाह भयो । घरमा भित्राउँदा पनि कुनै संस्कार गरेनन् । बिहेमा धन्न मैले एक दुईजना साथीहरु बोलाएको थिएँ र उनीहरुले फोटो खिचिदिए ।
दशैंको बेला उनीहरु रामेछापको मन्थली गए । प्रदीपले आफन्त बितेको छ, तिमीलाई लान मिल्दैन भन्यो । म मम्मीकहाँ आएँ । पछि फेसबुकमा हेर्छु त उनीहरुले रमाइलो गरेर दशैं मनाएका छन्, टीका लगाएका छन् । तिहार मनाएका छन् ।
यसवेलासम्म हाम्रो विवाह दर्ता भएकै थिएन । उनीहरुको मन्थलीको बसपार्कमा मनकामना एयरपोर्ट भ्यु होटल छ । त्यहाँ मेरो श्रीमान् प्रदीप बस्ने भएकाले म पनि त्यहाँ गएँ । त्यहाँ दिनरात होटलको काममा बिजी भएँ । मेरो पढाइ छुट्यो । मैले आमासँग पनि कुरा गर्न सक्दिनँ थिए । काममा डिस्टर्व हुन्छ भनेर मलाई मोबाइल चलाउन पनि दिँदैनथे । मलाई काठमाडौं फलोअपका लागि अस्पताल आउनुपर्ने थियो, त्यो पनि ल्याएनन् । तर पनि श्रीमान्ले राम्रै गरेका छन् भनेर चित्त बुझाएँ ।
समय बित्दै जाँदा परिवारको सदस्य मसँग कोही नबोल्ने । काका ससुरा मसँग अलि बोल्ने, क्लोज हुने गर्थे । तर, उनले मलाई सेक्सुअल ह्यारेसमेन्ट गर्न थाले । कुराहरु पनि त्यस्तै अश्लील खालको गर्ने । किचनमा उभिएर काम गरिरहँदा प्राइभेट पार्टमा छुने । अनि आन्टी भनेर झुक्किएँ भन्ने । बाथरुममा बोलाएर चिसो पानी, तातो पानी मिलाउन आएन भनेर जताततै छुने ।
मैले यो कुरा श्रीमान् प्रदीपलाई भनेँ । त्यसपछि उसले मलाई मेरो सासू–ससुरा भएको ठाउँमा लगेर राख्यो । तर, त्यहाँ पनि सासूले भूइँमा थाल राखेर खुट्टाले सारेर भात दिने । मलाई त्यहाँ पनि राम्रोसँग बस्न दिएनन् ।
यही बीचमा म दोस्रोपटक प्रेगनेन्ट भएँ । त्यहाँको माया दिदीलाई किट ल्याइमागेर चेक गर्दा पोजिटिभ आयो । मैले प्रदीपलाई प्रेगनेन्ट भएको बताएँ । खोइ किन हो, ऊ निराश भयो । बच्चा फाल्नुपर्छ भन्यो । मैले मानिनँ । फेरि फालेपछि के गर्ने ? तर ससुरा विमल कठायतले भने, ‘यो बच्चा जन्माइस् भने रोडमा गाडिदिन्छु । तँलाई तामाकोशीमा बगाइदिन्छु ।’
तर मैले जिद्दी गरेँ । मैले बच्चा फाल्न नमानिरहेको वेला प्रदीप सेल्सका लागि दुईवटा ट्रक लिएर गयो । ऊ सामान सप्लाइ गर्न जान्थ्यो । दिउँसो ३ बजेतिर उनीहरु आए । अनि सबै मिलेर मेरो हातमा प्लास्टिकको डोरीले बाँधेर घाँटी थिचेर एभोर्सनको औषधि खुवाए । प्रदीपको बहिनी प्रमिला कठायत जो अहिले के एण्ड के इन्टरनेशनल कलेजमा पढ्छ, ऊ, मेरो हजुरबा ससुरा जो भुपु सैनिकको सभापति हुनुहुन्छ र काका ससुराले जबरजस्ती खुवाए ।
श्रीमान दिउँसोभरि कता जान्थ्यो, राति उसको काम पर्थ्याे । एक दिन ज्वरो आएर सुतिरहेकी थिएँ । राति ११ बजे काकाससुरा आए । मलाई जबरजस्ती समाउन खोजेपछि म चिच्याएँ । उसको छोरी, श्रीमती, काम गर्नेहरु आए । मैले मलाई जबरजस्ती गर्न खोजेको भनेपछि उनीहरु सबै मिलेर मलाई नै कुटपिट गरे ।
म बन्धक बनेर बसेको धेरै भइसकेको थियो । अति भएपछि म भागेर तामाकोशी अस्पताल गएँ अटोमा । लकडाउनको वेला थियो । मैले डाक्टर केशव धामीलाई प्रहरी प्रशासन वा सुरक्षित ठाउँमा पुर्याइदिनु भनेर भनेँ । उनले मलाई स्लाइन पानी दिए । मैले डाक्टरलाई सबै कुरा बताएँ । डाक्टरको कठायत परिवारमा राम्रो सम्बन्ध छ भनेर थाहै थिएन । यसपछि त अचानक काका ससुरा आएर ‘तँ खातेनी, प्लास्टिक टिप्ने जातलाई मैले महलमा लिएर राख्दा भएन, बेइज्जत गरिस्’ भनेर लिएर गए । घरमा लगेर कुटपिट गरे । रडले हाने । पेटमा लातले कति हाने, हिसाब छैन । रडले पिटेको घाउहरु अझै मेरो जिउमा छन् ।
एक दिन मैले जिल्लाको डीएसपी वसन्त पाठकलाई म्यासेज पठाएँ श्रीमानकाे मोबाइलबाट । म फलानोको बुहारी हुँ, मलाई यहाँबाट उद्दार गर्नुस् भनेर लेखेँ । उनले मेरो घरमा आएर त्यो म्यासेज देखाइदिए । फेरि ममाथि कुटपिट भयो ।
त्यही बीचमा मेरो माइतीबाट मेरो खोजी भयो, कि लास देखाउ कि सास देखाउ भनेर । लकडाउनको समयमा मलाई अण्डा बोक्ने गाडीमा अस्पताल पठाए । तामाकोशी अस्पतालका डाक्टरले डिप्रेसनमा गएको भनिदिए । स्लिपिङ ट्याबलेट डबल डोज खुवाए । मेरो एभोेसर्न गराउने औषधि पनि उनैले गैरकानुनी रुपमा प्रदीपको परिवारलाई दिए । डाक्टरले फोनमा ‘यसलाई डबल डोज दिनू । यसलाई डिप्रेसन भएको छ’ भनेको रेकर्ड मसँगै छ ।
काठमाडौं आएर पाटनमा गएर चेक गराएँ । तर तामाकोशीका डाक्टरले भनेजस्तो केही पुष्टि भएन । ऊ साइक्रेटिक त होइन नि !
उनीहरुले विवाह गर्ने र जाहेरीको हदम्याद कटेपछि मलाई केही पैसा दिएर घरबाट लखेट्ने योजना बनाएका रहेछन् । मेरो विवाह दर्ता पनि वडामा नगई, वडा सचिवको सिफारिसविना गरिएको थियो । मलाई जबरजस्ती कोठामा थुनेर उनीहरुले भनेको मितिमा सहीछाप गराइएको थियो । मैले वडा सचिवलाई सोधेँ, ‘बिहे भनेको छ, साक्षी पनि कोही छैन । केही थाहा नपाई तपाईंहरुले कसरी बिहे दर्ता गराउन मिल्छ ?’
सचिवले भने, ‘यो कानूनविपरीत हो । तपाईंको परिवारका मान्छेले दबाब दिनुभयो ।’

उनले डकुमेन्ट सबै देऊ, तिमीलाई अप्ठ्यारो पर्दैन भनेपछि दिएँ । सचिवसँग कुरा गरेको फोन रेकर्ड पनि मसँग छ ।
लकडाउनलगत्तै प्रदीपले जिल्ला अदालतमा डिभोर्स केस फाइल गरेछ, मानसिक तनाव दिएको भनेर । वैवाहिक बलात्कारमा मुद्दा हाल्छु भनेर तनाव दिएको भनेर मुद्दा हालेछ । यसले मेरो कानुनी प्रक्रियालाई पनि कमजोर बनाइदियो । यसपछि मैले वैवाहिक बलात्कारको केस हाल्न मिलेन । मलाई शरीर बन्धक बनाएको केस हाल्न मिलेन । मेरो बच्चा तुहाइदिएको केस हाल्न मिलेन ।
मेरो ज्यानै लिने गरी औषधि चलाइदिएका छन् । यसको हिसाबकिताब कसले दिन्छ ? अब त मेरो पाठेघर यसरी बिग्रेको छ कि बच्चा पनि कहिल्यै नबस्ने डाक्टरहरुले बताएका छन् । म अब आमा बन्न नसक्नुमा त्यो कठायत परिवारको त हात छँदैछ । साथै त्यो तामाकोशीका डाक्टरको पनि हात छ । त्यो डीएसपीको पनि हात छ । उसको भान्जाले रेप गर्दा चाहिँ केस फिर्ता गराउने, अनि अरुकोमा के गर्छन् ?
मैले डीएसपीमाथि अनुसन्धान गरियोस् भनेर प्रहरीको हेडक्वार्टरमा निवेदन पनि दिएँ । तर, उनीहरुले अनुसन्धान नै गरेनन् । तामाकोशीको डाक्टर आज पनि मसँग भागेर हिँडेको छ ।
उनीहरुले मुद्दा हालेपछि मैले सम्बन्ध विच्छेद गर्दिनँ भनेँ । मेरो जिन्दगी खेलौना होइन भनेँ । अदालत धाउन मसँग पैसा थिएन । राम्रो वकिल राख्ने हैसियत थिएन हाम्रो । ‘हामी नेपाली, हाम्रो नेपाल नामक’ अभियानमा जाँदा सञ्जयराज अधिकारी भन्ने वकिल उहाँहरुले दिनुभएको थियो । पछि बल्लतल्ल उहाँलाई रामेछापको जिल्ला अदालत लगेँ । जसरी पनि बकपत्र गराइदिनुस् भनेर । तर, सञ्जयराज अधिकारीलाई कठायत परिवारले भेटेपछि मेरो मुद्दा लथालिङ छाडिदिए ।
अदालतका न्यायाधीश बद्रीप्रसाद वलीले ‘तिमी राम्री छौ, अर्को बिहे गर, उमेर छ’ मात्रै भनिरहे । इजलासको वेला पनि ‘तिमीलाई रुने दश मिनेट’ भन्दै बाहिरिन्थे । त्यहाँ गयो कि मलाई रुनमात्रै आउँथ्यो । मेरो एकमात्रै आशा पनि अदालत नै थियो ।
तर, मेरो वकिल सञ्जयराज अधिकारीले राम्रोसँग हेरिदिएनन् । अदालतले प्रदीपको पक्षमा फैसला गरिदियो । मैले न्याय पाइनँ । गएको बैशाख ७ गते अदालतले फैसला गरिदियो । प्रदीपलाई सफाइ दिइयो ।
अदालतको फैसला हुनुभन्दा एकसाता अघिबाटै घरमा टर्चर आएको थियो । आफ्नो विपक्षमा फैसला आउने छनक पाइसकेको थिएँ । अन्तिम आशाको रुपमा हेरेको अदालतले पनि न्याय नदिए के गर्ने ? बरु मर्छु भन्ने माइन्ड मेकअप बनाएर । फैसला आउने दिन विष किनेर ब्यागमा हालेरै अदालत गएँ ।
मैले इजलासकै अघि विष खाइदिएँ । त्यसपछि मलाई तामाकोशी अस्पतालमा लगेर वान्ता हुने केके औषधि खुवाए । मैले न्यायाधीशकै अघि मर्छु भनेर विष पिएकी थिएँ । त्यसपछि मलाई काठमाडौं ल्याउने भए, मैले त मलाई नलैजाऊ, बद्रीप्रसाद वलीकै अगाडि मर्छु भनेकी थिएँ ।
पछि काठमाडौंमा आएर १९ दिन आईसीयूमा बसेँ । अहिले विस्तारै स्वस्थ हुँदैछु । अब म उच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छु । मेरो जम्मा माग भनेको कि मैले मर्नुपर्यो, कि त मैले न्याय पाउनुपर्यो ।
(विनुले नेपालप्रेसको कार्यालयमै आएर आफू हिंसामा परेको भन्दै सुनाएको कथा हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका हौं । हामीले आरोपित प्रदीप कठायतलाई पनि फोन सम्पर्क गरी बिनुले लगाएका आरोपहरुबारे सोध्यौं । प्रदीपले सबै आरोप अस्वीकार गरे । विनुको नियत नै गलत रहेको र परिवारलाई फसाउन खोजेको उनले दाबी गरेका छन् । आफ्नोबारे समाचार प्रकाशित गरे मानहानीमा जाने भन्दै उनले धम्कीपूर्ण भाषासमेत प्रयोग गरे ।)

Leave a Reply