मिटर ब्याजीले सावा बुझाए ब्याज रकम मिनाहा गर्ने, ऋणी भन्छन्- कारबाही नभएसम्म हुँदैन

रुपन्देही । मिटरब्याजी साहुविरुद्ध काठमाडौंमा धर्ना बसेका नवलपरासीका ऋणीहरूलाई सम्बन्धित साहुहरूले सावा बुझाए ब्याज रकम मिनाहा गर्ने घोषणा गरेका छन् ।

पटक–पटक छलफलमा बोलाउँदा ऋणीहरू नआएको दाबी गर्दै उनीहरूले सावा बुझाए ब्याज रकम दिनु नपर्ने बताएका हुन् ।

चार दिनदेखि काठमाडौंमा मिटरब्याजी साहुविरुद्ध भन्दै धर्नामा बसेका नवलपरासीका ऋणीहरूलाई सम्बन्धित साहुहरूले सावाँ बुझाए ब्याज रकम मिनाहा गर्ने बताएका छन् ।

मिटरब्याजी साहुविरुद्ध भन्दै उनीहरूले ४ दिनदेखि काठमाडौँमा आन्दोलन गरिरहेका छन् । ती साहुबाट दृष्टि बन्धक गरी ऋण लिएका प्रतापपुर र सुस्ता गाउँपालिकाबाट ४० भन्दा बढी ऋणीहरूले ऋण तिर्न नसक्दा लिलाम भएको जग्गा र चर्को रूपमा बुझाएको रकम फिर्ता हुनुपर्ने माग राखेर काठमाडौँमा दिनहुँ धर्ना दिँदै आएपछि उनीहरूलाई ऋण दिने दुई जनाले यस्तो घोषणा गरेका हुन् ।

स्थानीय सुनिल बानियाँ र जगदीश बाँनिया साहुबाट मालपोत कार्यालयमा दृष्टि बन्धक गरेर ऋण लिएका ऋणीहरूले कानुनी कारबाही गरी न्याय पाउन भन्दै धर्नामा बसेका छन् ।

धर्नापछि बानियाँद्धयले आइतबार परासीमा पत्रकार सम्मेलन गरेर सावाँ मात्र बुझाए पनि आफूहरूले ऋण मिनाहा गर्ने बताएका हुन् । आफूहरू विरुद्ध प्रशासनमा केही महिनाअघि उजुरी दिएको र प्रशासनमा छलफलमा बोलाउँदा ऋणीहरू नआएको उनीहरूको दाबी छ ।

सुनिल बाँनियाले भने–‘ प्रमाण छैन, आरोप मात्र लगाएका छन् । काठमाडौँमा बसेर आरोप लगाउँदैमा हुँदैन । जिल्लामा आएर छलफलमा बसौँ । साँवा बुझाउन मन्जुर हुनुहुन्छ भने ब्याज मिनाहा गरिदिन्छौ भनेका छौँ, खै वास्ता नै गर्नुहुन्न ।’

सुनिलले नेपाल प्रेससँग भने–‘हामीसँग ऋण नलगेकाहरू पनि आन्दोलनमा छन्, यो कुनै दलले उचालेर हो, हामीले दिएको कति हो, आउनुस् हामी ऋण मिलाउन तयार छौँ भनेका छौँ ।’

आफ्नो सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउन केही व्यक्तिले उचालेर आन्दोलन गराएको पनि उनको आरोप छ । सात वर्षअघि नै आफूले दृष्टि बन्धकबाट ऋण दिने कार्य बन्द गरेको उनीहरूको भनाई छ । २०÷५० हजार ऋण लिएका निम्न वर्गका व्यक्तिहरूको ऋण मिनाहा गरिइदिनका लागि मालपोत कार्यालयमा बोलाए पनि उनीहरू नआएको भनाई छ ।

काठमाडौंमा रहेका आन्दोलनकारीले डेढ लाख लिएकोमा पटक पटक गरी १४ लाख बुझाउँदा पनि थप कागजमा हस्ताक्षर गर्न दबाब दिएको बताएका छन् ।

तर साहु मानिएका बाँनियाले डेढ लाख बुझाउन नसक्नेले १४ दाख बुझाएको हो भन्ने कुरा अनावश्यक भएको दाबी गरेका छन् । मिटर ब्याज र ठगीविरुद्ध संघर्ष समिति बनाएर केही दिनदेखि पीडित ऋणीहरूले काडमाण्डौमा धर्ना बसिरहेका छन् ।

‘कानुनभन्दा बढी रकम लिएको प्रमाण पेस गरेमा ऋणीहरूले लगाएको आरोपको रकमभन्दा दोब्बर दिन तयार छौँ ।’ जगदीश बानियाले भने ।

तर काठमाडौंमा आन्दोलन गरिरहेका संघर्ष समितिका संयोजक रामसुरज गुप्ताले दुवै बानियाँले स्थानीयलाई किर्ते गरेर रकम बढाएको र धेरैलाई उठिबास लगाएकाले आन्दोलन गरेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै उनले अहिले ब्याज छुटको मात्रै कुरा गरेर उनीहरूलाई नछोड्ने बताउँदै भने– हामीलाई उठिबास लगाउने, १० हजार लिएकालाई लाखौँको कागजमा हस्ताक्षर गराउने अनि ब्याज छुट गरेँ भनेर मान्ने वाला छैनौँ, उनीहरूले गरेका सबै गल्तीका प्रमाण हामीसँग छ, सरकारले न्याय दिनुपर्छ, उनीहरूलाई कारबाही हुनुपर्छ ।’

गुप्ताले अहिलेसम्म ३९ जना आन्दोलनमा रहेको र आजै थप ६ जना जिल्लाबाट काठमाडौंमा आउन लागेको दाबी गरे ।

Comments

One response to “मिटर ब्याजीले सावा बुझाए ब्याज रकम मिनाहा गर्ने, ऋणी भन्छन्- कारबाही नभएसम्म हुँदैन”

  1. मङल श्रेष्ठ Avatar
    मङल श्रेष्ठ

    भलाइ गर्नेको यो जवानामा काम छैन ,जुन यो ब्यक्ति आफुलाइ समस्य पर्दा 1को 1नै तिर्न पनि बाध्य हुन्छ ,अनि आफ्नो काम टारेपछी मिटर ब्याज भन्दै सावा नै दाबी गर्नु त भएन नि ,के यो मिटर ब्याज लाउने ब्याक्ती यी मान्छेका घर घरमा धाएर पैसा दिएका हुन् र ?यो निस्पक्छ छानबिन गरेर छाड्नु हुन विनम्र अनुरोध गर्दछु,किन भने यो केसमा म पनि परेको छु मैले पनि कसैको समस्य टारेको छु 10दिनको लागि भनेर अहिले 5बर्स भयो साउ पनि छैन ब्याज पनि ,तर पनि छाती फुलाएर नै हिडिरहेको छ ,तर म भने आफुले पैसा लिएको मान्छेको पैसा तिर्न नसकेर बिदेसिनु परेको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *