गम्भीर विवादमा अर्थमन्त्री शर्मा : समाचार खण्डन गर्ने कि राजीनामा ?

काठमाडौं । बजेटमाथि अनधिकृत व्यक्तिबाट छेडछाड गराएको सार्वजनिक भएसँगै अर्थमन्त्री जनार्दन शर्मा तीव्र विवादमा तानिएका छन् ।

आज अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार गलत साबित गर्न नसकेमा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट भाषण हुने अघिल्लो रातमा मन्त्री शर्माले एक पूर्वनासुलाई मन्त्रालयमा घुसाएर करको दर हेरफेर गराएको समाचारमा जनाइएको छ ।

बजेट निर्माणका लागि गठित टिमलाई समेत जिल्याउँदै पूर्वनासु रघुनाथ घिमिरेले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट चलाएको दाबी समाचारमा गरिएको छ । यति गम्भीर विषय सार्वजनिक भएको घण्टौँसम्म पनि अर्थमन्त्रीले कुनै स्पष्टीकरण दिएका छैनन् ।

स्रोतका अनुसार यति बेला अर्थमन्त्री शर्मा समाचारलाई कसरी ट्याकल गर्ने भनेर निकटस्थसँग छलफल गरिरहेका छन् । तर, सामान्य खण्डन विज्ञप्ति जारी गरेरमात्रै उनले उन्मुक्ति पाउने अवस्था भने छैन ।

सरकारको कुनै ओहदामा नरहेको एउटा मामुली पूर्वकर्मचारीलाई ‘विज्ञ’ भन्दै मन्त्रालयमा घुसपैठ गराइनु र अति संवेदनशील मानिने करका दरहरू हेरफेर गरिनु चानचुने विषय होइन ।

यसलाई लिएर संसदमा समेत अर्थमन्त्रीको राजीनामा माग भएको छ । शर्माको पार्टी नेकपा माओवादीमा समेत यो समाचारले हलचल पैदा भएको छ ।

करको दरमा गरिएका केही हेरफेरमाथि पहिल्यैबाट प्रश्न उठिरहेका थिए । खासगरी विद्युतीय सवारीसाधनमा लगाइएको भन्सारलाई लिएर अर्थमन्त्रीको आलोचना भएको थियो । विद्युतीय सवारीलाई प्रोत्साहनको कुरा गरिरहेको सरकारले बजेटमा भन्सार ह्वात्तै बढाइदिनु युक्तिसंगत देखिएको थिएन ।

यस्तै स्वदेशी उद्योगीहरूको ढाड भाँच्ने गरी आयातित स्यानिटरी प्याडमा दिइएको भन्सार छुटले पनि आशंका जन्माइरहेको छ । नयाँ बजेटले तारजाली, घ्यू–तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

स्वदेशी उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नेभन्दा पनि विदेशबाट आयात गर्दा भन्सार घटाउने नीति सन्देहपूर्ण हो । आज प्रकाशित समाचारले विभिन्न उद्योगीसँग ‘सेटिङ’ का आधारमा करको दर हेरफेर गरिएको आशंकालाई बल पुर्‍याएको छ ।

प्रचण्ड-शर्मा भेट

विवादमा आएका अर्थमन्त्री शर्मालाई हिजो माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए । स्रोतका अनुसार प्रचण्डले शर्मालाई आफ्नो निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । करिब एक घण्टाको उक्त छलफलमा प्रचण्डले अर्थमन्त्रीको कार्यशैलीप्रति रोष प्रकट गरेको स्रोतले बतायो । प्रचण्डले अर्थमन्त्रीलाई राजीनामाको सुझावसमेत दिएको बुझिएको छ ।

अर्थमन्त्री शर्माको सचिवालयले भने माओवादीका केही नेताले नचाहिँदो प्रचारबाजी गरिरहेको टिप्पणी गर्‍यो ।

सचिवालयका एक सदस्यले भने, ‘केही नेतालाई मन्त्री बन्न हतार भएर जे पनि बोल्दै हिँडेका छन् । यस विषयमा पार्टीले नै आधिकारिक धारणा ल्याउने छ ।’

Comments

One response to “गम्भीर विवादमा अर्थमन्त्री शर्मा : समाचार खण्डन गर्ने कि राजीनामा ?”

  1. राजेन्द्र ताम्राकार Avatar
    राजेन्द्र ताम्राकार

    नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको पछिल्लो हर्कतले आफूले उर्जामन्त्री भएको बेला बनाएको अलिकति बचेखुचेको साख पनि धुलीसाथ बनाएका छन् । शर्मामा अलिकति पनि लाजसरम, आत्मग्लानी र नैतिकता भएको भए राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विनाकारण पदबाट हटाउँदा सर्वोच्च अदालतबाट आफ्नो विपक्षमा फैसला आउँनासाथ राजीनामा दिनुपर्थ्यो । तर, शर्मामा अलिकति पनि नैतिकता भन्ने चिज नै नभएपछि उनले राजीनामा दिने कुरै भएन । र, दिएनन् । यतिबेला शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणअघि एकजना पूर्व नायव सुब्बालाई मध्यरातमा अर्थ मन्त्रालयमा बोलाएर करका दरहरु परिवर्तन गर्न लगाएको गम्भीर आरोप लागेको छ । यस्तो अवस्थामा माओवादीमा भावी महासचिवको दौडमा समेत रहेका शर्माले नैतिकताको आधारमा अर्थमन्त्रीको पदबाट तत्काल राजीनामा दिनुपर्छ । अन्यथा पार्टीले उनलाई यथासिघ्र फिर्ता बोलाउनुपर्छ । त्यो पनि नभए प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाइ बर्खास्त गर्नुपर्छ । अन्यथा अहिले जनता जागेको बेला शर्माले गरेको यस्तो हर्कतले यसै वर्ष सम्भवत आगामी कात्तिक / मंसिर महिनामा सम्पन्न हुन गइरहेको आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले यसको ठुलो मूल्य चुकाउनुपर्नेछ । त्यतिमात्रै होइन निर्वाचनसम्म अहिलेको गठबन्धन कायमै रहेमा चुनावमा सत्ता गबन्धनले पनि ठुलै नोक्सानी बेहोर्नुपर्ने देखिन्छ । यदि सञ्चारमाध्यममा बाहिर आएजस्तो अर्थमन्त्री शर्माले मध्यरातमा अर्थ मन्त्रालयमा बजेट सम्बन्धि सरोकार नै नभएको व्यक्तिलाई बोलाएर विभिन्न महत्वपूर्ण करका दर परिवर्तन गरिएको आरोप साँचो ठहरिएमा उनको राजीनामाले मात्रै पुग्दैन । मन्त्री शर्माले गम्भीर आर्थिक अपराध गरेको आरोपमा उनलाइ कानुन बमोजिम थप कारबाही हुने देखिन्छ । यसर्थ घटनाको गम्भीरतालाई आत्मसात गर्दै घटनाको सत्यतथ्य जाँचबुझका लागि पनि अर्थमन्त्री शर्माले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुको विकल्प छैन । यसमा स्वयं मन्त्री शर्मा, उनको पार्टी नेकपा माओवादी केन्द्र र सरकारको बेलैमा उचित ध्यान जाओस् । अन्यथा भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ । तर, गोरु आफ्नै भएपनि काँध थाप्न भने सकिँदैन । सबैको जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *