कुमारी आमा निहारिका राजपूत माइतीघरमा २१ महिने बच्चासित आमरण अनसनमा

काठमाडाैं । १७ वर्षको उमेरमा बलात्कृत भएर २१ महिने बच्चाकी कुमारी आमा निहारिका राजपूतले माइतीघरमा आमरण अनसन सुरु गरेकी छन् ।

आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उनी अनिश्चितकालीन अनसनमा बसेकी हुन् ।

२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले अपराधी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन् । तर, चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूतले अनसन सुरु गरेकी हुन ।

अनसनमा उनले पाँच बूँदे माग राखेकी छन् । उनले मागमा आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्ने माग राखेकी छन् ।

‘उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो’, उनले मागमा भनेकी छन्, ‘मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो । मेरो २१ महिने बच्चाको लालन पालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो ।’

जबसम्म मागहरू पूरा हुँदैनन्, तबसम्म आफूले अनसन नतोड्ने उल्लेख समेत गरेकी छन् । उनले प्रहरी प्रशासनले घटनाको सुरुवातदेखि नै मुद्दालाई कमजोर पारिदिएकाले पुनः अनुसन्धान गरिनुपर्ने माग गरेकी छन् ।

आफूले न्यायको प्रत्याभूति नगरेसम्म अनसन निरन्तर जारी राख्ने बताएकी छन् ।

Comments

One response to “कुमारी आमा निहारिका राजपूत माइतीघरमा २१ महिने बच्चासित आमरण अनसनमा”

  1. Jhinak Raj Anarya Avatar

    यदि हजुरले कुनै दलित देखि भागी विवाह गरेको हजुरको काखको छोरा संगै हजुरले यो दिन देख्नु पर्ने थिएन ❗❗

Leave a Reply

Your email address will not be published. Required fields are marked *