महेश बस्नेतको शंका- सरकार प्रधानमन्त्रीले होइन अरू कसैले चलाइरहेको छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले चलाएको विषयमा शंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभामा सरकारबाट प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

‘हामीलाई थाहा छ प्रधानमन्त्रीज्यूको शारीरिक अवस्था अलि कमजोर छ,’ उनले भने,‘त्यसैले प्रधानमन्त्री भन्दा अरु कसैले यो सरकार रहेको जस्तो अनुभूति हामीलाई हुन्छ ।’

आफूले कसै अन्यले नै चलाइरहेको सुनेको सांसद बस्नेतको भनाइ थियो ।

‘मान्छेहरू भन्ने गर्छन्- बूढानीलकण्ठमा महाराजहरूले पो यो गरिरहेका छन् कि ? राजकुमारहरूले पो यो गरिरहेका छन् कि ? बालुवाटारका महारानीहरूले पो यो चलाइरहेका छन् कि ?’

सांसद बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर पनि इशारा गरे । उनले भने, ‘खुमलटारका महाराजहरूले पो यो चलाइरहेका छन् की ? अथवा कतिपयले यो भन्ने गर्छन् अनेक खालका प्रवृत्ति बोकेका अनेक खालका स्वार्थ बोकेका व्यापारी व्यवसायीले यो काम गरिरहेका छन् की ?’

सांसद बस्नेतले विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्रीहरू सहभागी नहुँदा पनि आक्रोश व्यस्त गरे ।

‘उहाँको व्यस्तता सरकार टिकाउने कुरामा छ । गठबन्धन जोगाउने कुरामा छ, उहाँहरूको व्यस्तता प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने कुरामा छ,’ उनले भने,‘मन्त्रीहरू सायद अहिले नेताको घरतिर हुनुहोला, प्रधानमन्त्रीको घरतिर हुनुहोला । किनभने भइरहेका मन्त्रीहरूलाई पद जोगाउनु परेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *