पाँच वर्ष मोटरसाइकल नै चढ्छु, जनताको जस्तै जीवनशैली अपनाउँछुः अध्यक्ष विक (भिडिओ)

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्षमा निर्वाचित भएका हुन् नेकपा माओवादी केन्द्रका खड्क विश्वकर्मा ‘विवश’ । २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाभर माओवादी केही वडामा मात्रै सीमित रहेको थियो । यो वर्ष भने नौ पालिकामध्ये चौकुने गाउँपालिकामा माओवादीले विजयको झण्डा फहराएको छ । चौकुनेका अध्यक्ष विकले नेपालप्रेससँग कुरा गर्दै आफूले अबका पाँच वर्ष मोटरसाइकल चढ्ने बताए । पालिकाको गाडी भने बिरामी ओसारपसार गर्न प्रयोग गर्ने उनले सुनाए ।

उनले अलग्गै भान्से र अलग ड्राइभर नियुक्त नगर्ने बताउँदै जनताकै जस्तो जीवनशैली अपनाउने प्रतिबद्धतासमेत जनाएका छन् । उनले हामीसँगको कुराकानीमा समृद्ध चौकुने देखेको बताएका छन् । गाउँपालिका अध्यक्ष खड्क बिकसँग  नेपालप्रेसकर्मी शेरबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंश नेपालटकमा –

– २०७४ सालमा जिल्लाका केही वडामा सीमित भएको माओवादीले यसपटक चौकुनेको अध्यक्षमा नै जित्यो, यो कसरी सम्भव भयो ?

जनताको अपार मायाले जीत हात पारिएको हो । जब जनताको भावना बुझ्न सकिन्छ तब जनताको माया, प्रेरणा लिन सकिन्छ, जनताको विश्वास लिन सकिन्छ । त्यही विश्वासको आधारमै गाउँपालिका जितेको हो ।

– लामो समय जनयुद्ध लड्नुभयो । दलित समुदायको प्रतिनिधित्व गरेर आउनुभएको छ । दलित, पिछडिएका जनताले धेरै आशा गरेका पनि होलान् । ती आशा कसरी पुरा गर्नुहुन्छ ? उनीहरुका आशा के के पाउनुभएको छ ?

सामान्यतयाः चौकुने गाउँपालिकालाई लुकेको कर्णालीका रुपमा मैले चित्रण गर्ने गरेको छु । कर्णाली प्रदेशको राजधानी सुर्खेत हो भनेर चौकुनेवासीले पत्याउनै नसकिने अवस्था छ । सुर्खेतलाई राजधानीको जिल्लामात्रै भन्न सकिन्छ, राजधानी भन्न सकिँदैन । यहाँ थुप्रै समस्या छन् । शिक्षाका समस्या छन्, खानेपानीका समस्या छन्, स्वास्थ्य, बाटोघाटोका समस्या छन् । अन्य सामाजिक क्षेत्रका समस्या छन् । यी थुप्रै समस्या समाधान गर्ने चुनौती मेरो अगाडि छ । यो चुनौतीलाई मैले सम्भावना हुन् भनेर अवसरको रुपमा लिएको छु ।
यहाँका विभिन्न जातजाति र मूलतः आधारभूत वर्गहरु धेरै छन् । यो वर्ग गरिब छ, जो दैनिक छाक टार्न नसक्ने छन् । दैनिक १८ घण्टा काम गर्दा पनि अझै पेटभरि खान नपाउने वर्ग छन्, त्यो वर्गमा निकै समस्या छ । त्यो वर्गको सेवा गर्ने नै गाउँपालिको मुख्य उद्देश्य रहनेछ ।

– कसरी गर्नुहुन्छ सेवा ?

पहिलो कुरा त म वर्ग पहिचान गर्छु । अहिलेसम्म को मान्छेले खान पाएको छ र को भोकै छन् भन्ने कुराको पहिचान स्थानीय सरकारले गरेको छैन । पहिलो नम्बरमा मैले आधारभूत वर्गको पहिचान गर्ने र उनीहरुलाई एउटा कार्डको व्यवस्था गर्ने योजना छ । वर्ग पहिचान भइसकेपछि हामी कार्डको व्यवस्था गर्छौं । अनि त्यसको पहिचान जब खुल्छ, त्यसपछि उसलाई के के सहयोग गर्दा उसको जीवनस्तर बदलिन्छ, हामी त्यो कार्यक्रमलाई अगाडि बढाउँछौं ।

मलाई लागेकै भरमा एकदुई जनालाई सहयोग गरेकै भरमा समस्या समाधान हुनेछैन । विधिमा टेकेर, निश्चित विज्ञको समूह बनाएर वर्गको पहिचान गर्ने र त्यसपछि समाधान गर्ने योजना बनाएर अघि बढ्छौं ।

– तपाईंहरुलाई आधारभूत वर्गको पहिचान गर्न कति समय लाग्छ ?

मान्छे चिन्नलाई समस्या छैन । म सरर मान्छे सबै चिन्छु । मैले देख्ने नजर र विज्ञहरुले देख्ने नजर फरक हुन्छ किनकि म सबै कुराको विज्ञ होइन । मलाई यति कुरा थाहा छ कि त्यहाँ समस्या छ । तर, त्यो समस्यामा परेका व्यक्ति को को हुन् भन्ने कुराको पहिचान विज्ञहरुले गर्नुपर्छ ।

– पालिका केन्द्र पुग्ने सडकमै समस्या छ । तपाईंहरुको कार्यकालमा वीरेन्द्रनगरदेखि पालिका केन्द्रसम्म पुग्ने बाटो फिलिलि बन्छ ?

म पुरै कार्यकाल होइन आधा कार्यकालकै अवधिमा बाटो राम्रो बनाउने प्रतिबद्धता जनाउँछु । आधा कार्यकालमै यो बाटो चौकुने गाउँपालिका पार गरिसकेको हुनेछ भन्ने मेरो विश्वास छ किनभने त्यहाँका जनप्रतिनिधि नै कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा विन्दमान विष्ट हुनुहुन्छ ।

वीरेन्द्रनगरदेखि चौकुनेसम्मको दुरी ६० किलोमिटर हो । ३० किलोमिटर बाटो बड्डीचौरसम्म कर्णाली राजमार्गले बनाइसकेको छ । बड्डीचौरदेखि खम्बागाडेसम्मको सडकको प्रदेश सरकारले टेण्डर आह्वान गरिसकेको छ । खम्बागाडेदेखि गुटु खोलासम्मको सडक निर्माणको टेण्डर प्रक्रियामा छ ।

गुटु खोलादेखि खम्बागाडेसम्मको ४२ किलोमिटर बाटोका लागि संघीय सरकारका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गरेको छु । चौकुनेको जनजीवनका समस्याबारेमा मैले उहाँसँग सहयोग मागेको छु । उहाँले अर्थमन्त्रीज्यूसहित अन्य निकायमा सहयोग गर्न निर्देशन पनि दिनुभएको छ । छिटोभन्दा छिटो उक्त सडक खण्डको टेण्डर गर्न लगाउँछु भन्नु भएको छ । म एकपटक भनेर छोड्नेवाला छैन । जबसम्म त्यहाँ बाटो सुरु हुँदैन, तबसम्म मेरो ड्युटी भनेकै नेताहरु र मन्त्रीहरुसँग लविङ गरिरहनेछु ।

गाउँपालिकामा आउने पैसाले त्यो बाटो बनाउन सम्भव छैन । हामीसँग भएको सबै पैसा लगायो भने पनि त्यो बाटो बन्दैन । हामीले सानातिना बाटाहरु, खानेपानी, शिक्षा, रोजगारका कार्यक्रमहरु, कृषि क्षेत्रलाई उठाउने काम गर्नुपर्नेछ । त्यसकारण मैले त्यो बाटोका लागि संघीय सरकार र प्रदेश सरकारसँग निरन्तर पहल गरिरहनेछु ।

– तपाईंको वारिपट्टिको गाउँ अँध्यारो छ, पारि कैलाली उज्यालो छ । यसमा के भन्नुहुन्छ ?

यो बिजुलीबारे अहिले दुइटा तरिकाबाट कुरा चलिरहेको छ । एउटा ३३ केभी प्रसारणलाई वीरेन्द्रनगरबाट बाबियाचौरसम्म जाने र त्यहाँबाट उता लैजाने भनिएको छ । त्यसका लागि पोलहरु गाडी सकिएको छ भने रुख कटानको अनुमतिसमेत पाइसकेको छ । कानूनका कारण तार तान्न रोकिएको थियो । यसमा लगातार अर्थमन्त्री विष्ट लगातार लागिरहनुभयो र अन्ततः अहिले सफल हुनुभएको छ । रुख काट्नेबित्तिकै तार तानिन्छ ।

अर्को कुरा, चौकुने यस्तो गौरवको बनेको छ, जहाँ एसियाकै राम्रो सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुङ्गा पर्याप्त मात्रामा छ । सिमेन्ट उद्योग स्थापनाका लागि सोनाकाँडास्थित निर्माण कम्पनीले काम अघि बढाउँदै छ । लखरपाटा सिमेन्ट कारखानाका लागि वडा नं ११ मा ४०० रोपनी जग्गा उनीहरुले लिइसकेका छन् ।

बेतान कर्णाली पनि अब अघि बढ्दैछ । त्यही कारण पनि त्यहाँ तत्काल बिजुली आवश्यक पर्ने र त्यसलाई ३३ केभी प्रसारणलाइनले नधान्ने अवस्था छ ।

लम्की, राजकाँडा हुँदै घाटगाउँ जाने गरी उच्च गतिको प्रसारणलाइन बनाउँदा सिमेन्ट कारखानालाई र बेतान हाइड्रोलाई पनि काम लाग्ने र त्यसले चौकुनेका जनताका लागि पनि फाइदा हुने देखिएको छ । कर्णाली प्रदेशका सिंचाइ तथा जलस्रोतमन्त्रीसँग मेरो कुरा हुँदा यो वर्ष आवश्यक बजेट व्यवस्था गरिएको बताउनुभएको छ ।

– त्यहाँका जनताले अरु के अपेक्षा गर्ने ?

पहिलो कुरा हामीबाट गर्ने अपेक्षा भनेको पारदर्शिता हो । मैले भ्रष्टाचारलाई निर्मूल पारिदिन्छु र त्यसमा कही पनि गल्ती गर्दिनँ । म हिजो युद्ध लडेर आएको मान्छे हुँ । युद्ध लड्नुको अर्थ मान्छेलाई न्याय दिनु थियो र भ्रष्टाचारमुक्त गर्नु थियो । म व्यक्तिगत जीवनमा भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्न । यति गर्नेबित्तिकै जनताको हातहातमा, घरघरमा विकास पुग्छ । पालिकाको ३८ करोड बजेट भनेको सानो होइन । हिजो हामीले पाँच लाख, दश लाख बाँडेका थियौं, मात्र जनता पनि इमानदार भइदिनु पर्‍यो ।

जनताले यो रुपैयाँ हामीलाई खानका लागि आएको हो भनेर बुझ्नुभएन । बाँकी मैले गर्ने काममा कहीकतै कमजोरी बाँकी राख्दिनँ । यस्तो भयो भने सर्लक्कै विकासले सबैलाई छुन्छ । अनि गरिबहरुलाई कसरी उठाउने भन्ने काममा लाग्न सजिलो हुन्छ किनभने जुन वर्गको मैले राजनीति गर्दै आएँ, लामो समय सर्वहारा वर्गीय पक्षधरता लिएँ, त्यसबाट गरिबहरुको जीवनस्तर नउठाइकन, गरिबहरुलाई खान र बाँच्न सक्ने नबनाइकन मैले राजनीति गर्नुको अर्थ छैन ।

– तर अहिले माओवादी नेताहरु सुविधामुखी भए भन्ने आरोप लाग्ने गरेको छ । तपाईंले भन्ने एउटा र गर्ने अर्कै हुने हो कि ?

जनताको बीचमा जे बाचा गरेको थिएँ, त्योअनुसार मैले सरकारी गाडीको सुविधा लिएको छैन । मैले चुनावमा नलिने भनेको थिएँ, म अहिले आफ्नै मोटरसाइकल चढिरहेको छु । कर्णाली प्रदेश २, ००१ प ५७५८ नम्बरको मोटरसाइकल मसँग छ । पाँच वर्ष म यही मोटरसाइकल चढछु । जनतालाई मेरो मोटरसाइकल नम्बर टिपेर राख्न भनेको छु ।

गाउँपालिकामा भएको जुन गाडी छ, त्यसलाई ज्येष्ठ नागरिक, जो ७० वर्षमाथिका हुनुहुन्छ, उहाँलाई उपचारका लागि कतै लैजानु पर्‍यो भने उपलब्ध हुनेछ । त्यो गाडीको पट्टा नहुने र नझ्याक्ने भएकाले त्यो गाडी उहाँहरुका लागि राम्रो हुनेछ । सुत्केरी व्यथा लागेर अस्पताल पुर्‍याउनुपर्ने गर्भवती महिलाहरुलाई पनि त्यो गाडीमा चढाएर लैजाने गरी मैले प्रस्ताव राखेको छु किनभने हामी त ट्याक्टरमा चढे पनि भयो । सुत्केरी आमा, ज्येष्ठ नागरिकलाई अप्ठ्यारो छ नि !

गाडी, ड्राइभर र छुट्टै भान्से सुविधा नलिने मेरो प्रतिबद्धता हो । हरेक ६–६ महिनामा खर्च सार्वजनिक गर्ने मेरो योजना छ र म त्यो गर्छु । पारदर्शी रहने, जनता जुन तहमा छन्, म त्यही लेभलमा बाँच्छु किनभने मैले गाडी चढे भने बाटो देख्दिनँ, बाटो ड्राइभरले मात्रै देख्छ । पानी आए पनि बाटो देख्न मैले पर्दैन । धूलो–हिलो केही देखिँदैन । जनताको जीवन कस्तो चलिरहेको छ भन्ने कुरा मैले भोगेँ भनेमात्रै जनताको समस्या समाधान गर्न सक्छु ।

– अन्त्यमा छुटेका के छन् कि ?

मेरो अगाडि दुइटा चुनौती छन् । एउटा, धेरै जनाले जागिरको अपेक्षा गर्नु, विवशलाई चुनाव जितायो भने जागिर पाइन्छ भन्ने धेरैको अपेक्षा छ । मेरो मुख्य उद्देश्यमा यस्तो धेरै प्रेसर आएछ भने मैले चौकुनेलाई बनाउने जे टार्गेट लिएको छु, त्यसमा असर पर्न सक्छ । मुख्य कामभन्दा सहायक काममा मैले ध्यान दिनुपर्ने हुनसक्छ ।

दोस्रो, यहाँभन्दा अगाडि जनताले भ्रष्टाचारका धेरै कुरा उठाएका छन् । काम पटक्कै नभएको तर भुक्तानी लिइसकिएका धेरै योजनाहरु देखिएका छन् । अब मैले यसलाई यस्तै छोडिदिउँ पालिकामा नजिर बस्ने खतरा छ । तपाईंमात्रै आएर हामीलाई प्रेसर गर्ने, यसअघि कामै नगरेर पैसा दिइएको थियो भन्ने कुरा उठ्न सक्छ । तसर्थ यसलाई छानबिनको दायरामा ल्याउन मलाई चुनौती छ ।

कामै नगरी भुक्तानी लिइएका योजना, हातै नछोइकन भुक्तानी लिएको धेरै भेटियो । भ्रष्टाचार गरेको पाइएको छ । त्यस्ता योजनाका बारेमा निकट भविष्यमै मैले कार्यपालिका सदस्यकै नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाउँछु । त्यसको विस्तृत रिपोर्ट मिडियाबाटै म सार्वजनिक गर्छु ।

Comments

One response to “पाँच वर्ष मोटरसाइकल नै चढ्छु, जनताको जस्तै जीवनशैली अपनाउँछुः अध्यक्ष विक (भिडिओ)”

  1. लछिराम ढकाल Avatar
    लछिराम ढकाल

    चौकुने को पारी पट्टि चै कहा उज्यालो छर जन्ता जान्न चाहान्छ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *