दाङ । मानव बेचबिखन र ठगीको आरोप लागेका फरार दाङ तुलसीपुरका एक एजेण्टलाई प्रहरीले काठमाडौंबाट समातेको छ । उनले अवैध रुपमा अमेरिका पठाउँदै आएका थिए ।
काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन र ठगी मुद्दामा तुलसीपुर घर भई हाल काठमाडौंमा बस्दै आएका मुकुन्द जिसीलाई एक वर्ष कैदको फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार जिसीलाई ब्युरोबाट खटिएको प्रहरी टोलीले समातेको मानव बेचबिखन ब्युरोकी डीएसपी अञ्जना श्रेष्ठले बताइन । उनले अदालतको फैसलापछि फरार भएका कारण जिसीलाई पक्राउ गरिएको र अदालत बुझाएर कारागार पठाइने जानकारी दिइन् ।
यो मुद्दामा गैरकानुनी रुपमा अमेरिका पठाउँदै आएका अर्का एजेण्ट घोराहीका टोपबहादुर जिसी युक्रेनमा लुकिछिपी बस्दै आएका छन् ।
एमाले नेता तथा पूर्व प्रदेशसभा सदस्य स्व. उत्तरकुमार वलीका पार्टनरका रुपमा दुवै जनाले काम गर्दै आएका हुन् । बेचबिखन मुद्दामा यसअघि अदालतले उत्तरकी पत्नी लुम्बिनी प्रदेशमन्त्री बिमला वलीलाई जरिवानाको फैसला गरेको थियो ।

Leave a Reply