मुकुन्द रिजाललाई प्रश्नः बालेन्द्रलाई असफल पार्ने खेल सुरु गर्नुभएको हो ? (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक हिजो प्रत्यक्ष प्रशारण भएपछि सामाजिक सञ्जालमा ठूलै हंगामा भए । मेयर बालेन्द्र साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर धेरैले टिकाटिप्पणी गरेका छन् । सबैभन्दा बढी आलोचित छन् वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल ।

यसअघि पनि एक कार्यकाल वडाध्यक्ष रहिसकेका रिजाल गत स्थानीय चुनावबाट लगातार दोस्रोपटक निर्वाचित बनेका हुन् । कांग्रेसबाट निर्वाचित उनले एमालेका लक्ष्मीरत्न तुलाधरलाई ६८९ मत हराएका थिए । हिजोको बैठकमा उनले प्रक्रियागत विषयमा विवाद उब्जाएका थिए ।

नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेसँगै बैठकमा तनाव उत्पन्न भएको थियो । साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम प्रशासकीय प्रमुखले पढेर सुनाए र भोलीपल्ट नै कार्यदलको बैठक बस्ने बताए । त्यसमा रिजालले आपत्ति जनाएका थिए ।

रिजालको प्रस्तुति बालेन्द्रका समर्थकहरुलाई चित्त बुझेन । उनीहरुले सामाजिक सञ्जालमा रिजालविरुद्ध तीव्र प्रतिक्रियाहरु जनाइरहेका छन् । तर, रिजाल भने यसलाई ठूलो विषय मान्दैनन् । नेपाल प्रेससँगको कुराकानीमा उनले आफूलाई प्रतिक्रियाहरुसँग मतलब नरहेको बताए । हिजोको बैठक नै ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’ उखान चरितार्थ भएको उनको टिप्पणी छ ।

रिजालसँग गरिएको वार्तालापः

हिजोको बैठकपछि सामाजिक सञ्जालमा निकै आलोचित भइरहनुभएको छ । तपाईंले प्रतिक्रियाहरु हेर्नुभएको छ कि छैन ?

म जनताको काममा लागेको मानिस हो । कसले के लेख्छ भनेर हेर्दिन म । कर्ममा विश्वास गर्ने मान्छे हँु र कर्म गरिरहेको छु । मान्छेले आ–आफ्नो स्तरबाट लेख्ने हुन् । मैले त्यो स्तरलाई हेर्न भ्याएको छैन ।

प्रत्यक्ष प्रशारण छ भन्ने थाहा पाउँदा पाउँदै किन आफूलाई संयमित राख्न सक्नुभएन त ?

संयम भनेको आदतको पनि कुरा हुन्छ । मेरो जिउ पनि यस्तो छ, बोली पनि ठुलो छ । तपाईंहरुसँग बोल्दा पनि मेरो स्वर ठुलो छ नि । नानीदेखिको बानी हटाउन सकिदैन ।

मानिसको रुप–रंग र आकारलाई हेर्ने होइन, विचारलाई हेर्ने हो । हामीकहाँ बैठक सञ्चालन गर्ने कार्यविधी भन्ने छ । त्यही कार्यविधी अनुसार चल्नु पर्ने थियो महानगरको बैठक । तर कुनै एनजीओको बैठक जसरी चलाउन खोजियो । मेयरले प्रस्तुत गर्नुपर्ने कुरा त्यहाँका कार्यकारीले प्रस्तुत गरेर मिटिङ नै अन्त्य गर्न लागेका थिए । दुनियाँमा कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो अवस्था भयो । विश्वले हेर्ने र नेपाललाई चिनाउने महानगरपालिकाको वैठकले देशकै अस्मितामाथि धब्बा लाग्ने हो कि भनेर चिन्ता लागेर बोलेको हुँ । हाम्रो बागमती प्रदेशले बैठक बस्ने जुन कार्यविधी बनाइएको छ, त्यसलाई एकपटक हेरिदिन प¥यो भनेर सुझाव मात्र दिएका हौँ हामीले ।

तपाईं अघिल्लोपटक पनि वडाअध्यक्ष हुनुहुन्थ्यो । पाँच वर्ष केही काम नगरेर खेर फाल्नुभएको आरोप छ नि तपाईंमाथि ?

म दाबाका साथ भन्छु, काठमाडौं महानगरपालिकाले गणतन्त्रपछिको पहिलो मेयर आदरणीय विद्यासुन्दर शाक्य पाएको थियो । उहाँ र हाम्रो टिम पार्टीभन्दा माथि उठेर जनताका समस्या र विकासमा जुट्यौ । हामीले ढल, खानेपानी र बाटो मात्र हैन धेरै कार्यविधी र नियमहरु बनायौँ । स्थानिय राजपत्र कार्यान्व्यनमा ल्याएका छौँ । काठमाडौं महानगरपालिकाको कार्यकारी बैठक कुन विधीबाट बस्ने भनेर किताब बनाएका छौँ । त्यसको अध्ययन गरिदिनु प¥यो ।

अहिले आएको मेयरसा’बलाई यस्ता धेरै कुराको जानकारी भएन होला । त्यही कारणले हिजोजस्तो स्थिति आएको हुँदा हामी दुखित छौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक त्यसरी बस्ने होइन । त्यो बोर्ड बैठक होइन, कार्यपालिका बैठक हो । जसरी क्याबिनेटको बैठक बस्छ, त्यसरी नै कार्यपालिकाको बैठक बस्ने गर्छ । तर हिजो त्यो प्रक्रियागत हुन सकेन । त्यो हुन नसकेर काठमाडौंबासीहरुको आत्मा रोएको छ ।

हामीले के सोचेका थियौ के भयो ? विधी, पद्दत्ति, प्रकृया र नेपाल सरकारको नियम–कानूनमा रहेर बैठक चलाइदिए राम्रो हुन्थ्यो भन्ने हो । मलाई संघीय मन्त्रालयबाट, स्थानीय निकायबाट फोन आइरहेको छ । होला प्रस्तुतिमा उठेर बोलियो होला, औंला ठड्याइयो होला । तर ती कुराहरु हामीले उभिएर नै बोलेका हौं । पहिला हामीलाई बस्ने ठाउँहरु छुट्टाइएको हुन्थ्यो । कार्यविधीमा हामीले बोल्ने समय तोकिएको हुन्थ्यो तर हिजो तीमध्ये केही पनि प्रकृया थिएन । भद्रगोल तरिकाले राखिएको थियो । त्यसले गर्दा नै त्यो स्थिति आयो । मेयर साबले पहिला बोर्ड बैठक र कार्यपालिका बैठक भनेको के हो पत्ता लगाउनुप¥यो ।

हिजोको बैठकमा तपाईंको आपत्ति प्रक्रियामा मात्रै थियो कि प्रस्तावमा पनि ?

हैन ! हामीले भनेका छौ मेयर साबलाई प्रक्रियागत भएन भनेर । प्रक्रियामा लिएर आउँ मेयरसा’ब, तपाईंले त्यही कुरा वाचन गर्नुस्, हामीले टेबुल ठटाएर पास गर्दिन्छौ भन्यौं । कार्यकारीज्युले पनि त्यो कुरा स्वीकारेर मसँग आएर ‘गल्ति भो मुकुन्दजी’ भनुसक्नुभएको छ ।

मिटिङ अन्त्य गरेपछि भएका कुरा हुन् यी । कार्यकारीले बैठकको अन्त्य गर्दैन । उहाँले त टिपोट मात्र गर्ने हो । तर त्यहाँ त के देखियो भन्दा प्रशासकीय प्रमुख नै मेयरजस्तो देखियो ।

स्वतन्त्र व्यक्ति मेयर बनेर आउँदा दलका प्रतिनिधिहरु असफल बनाउने खेलमा लाग्छन् भन्ने चर्चा छ । हिजोबाट तपाईं नै सबैभन्दा आलोचित हुनुहुन्छ । मेयरलाई असफल बनाउन नै लाग्नुभएको हो ?

मैले पहिला नै भनेको छु । प्रशासकीय प्रमुखले पार्टीको कुरा गर्दा मैले भनेको छु, पार्टीभन्दा माथि उठेर काठमाडौंको निर्माण गर्नुपर्छ । हिजो हामी एउटा–एउटा पार्टीको झण्डा लिएर उठ्यौं होला । तर अब महानगरपालिकामा आएपपछ १ लाख ९० हजार मतदाता र ४० लाख जनताको जीवन समृद्ध बनाउन एकढिक्का भएर आउनुपर्छ भनेर भन्ने मान्छे म नै हुँ । तपाईंहरुले हिजोको क्लीप हेर्नुस् ।

आफूभन्दा छोरा उमेरको व्यक्तिको अन्डरमा काम गर्नुपर्दा वडाध्यक्षहरुमा हिनतबोध भएको हो कि ?

त्यो हुन सक्दैन । विचार कहिल्यै सानो–ठुलो हुँदैन । विपी २४ कि ३४ वर्षमा गृहमन्त्री हुनुभाथ्यो । उहाँभन्दा बुढा मन्त्री थिए । तर पद, विचार र प्रतिष्ठालाई उमेरले केही गर्दैन । नविनतम सोच हुनुपर्छ । छलाङ मार्ने सोच हुनुपर्छ । हामीले त्यसलाई आधार मानिन्छ । उमेरलाई आधार मान्ने हामीकहाँ चलन छैन ।

हिजो पनि विद्यासुन्दर शाक्य ५६ वर्षको हुनुहुन्थ्यो । २–३ जना वडाध्यक्ष ८२ वर्षसम्मका थिए । त्यो त पदलाई मान्ने हो, उमेरलाई मान्ने हैन ।

तपाईंको विचारमा महानगरको बैठक लाइभ प्रशारण गर्नु चाहिँ कत्तिको व्यवहारिक हो ? यसले गोपनियता भंग हुन्छ कि हुँदैन ?

म आज एउटा कुरा गर्छु । हामीले पाँच घण्टाअगाडि गोपनियताको सपथ खायौँ, तर पाँच घण्टा पछाडि बैठक लाइभ गर्यौ । मेरो हैसियतभन्दा माथिको कुरा भएकोले यो प्रश्न तपाईंले कानुनविद्सँग सोध्नुहोला ।

तपाईंको व्यक्तिगत धारणा त भन्न मिल्छ नि ?

गोपनियताको सपथ केका लागि खुवाईन्छ ? महानगरमा प्रवक्ता हुन्छन्, प्रवक्ताले महानगरपालिकाको बैठकमा भएका कुराहरु बोल्ने परम्परा थियो । अब अहिले नयाँ परम्परा सुरु भएको छ । यसमा यो लाइभ गरिएकोमा म दुखी पनि छैन र कानुनी प्रकृयाले के भन्छ भन्ने विषयमा मलाई थाहा पनि छैन ।

नयाँ मेयरले अघि सारेका योजनाहरु कस्ता छन् ? रेस्टुरेन्टको शौचालय सार्वजनिक बनाउने प्रस्ताव कार्यान्वयन होला ?

हामीले विगतमा बनाएका स्मार्ट शौचालयलाई प्रयोगमा ल्याउन पर्छ । नेपाल सरकारले सार्वजनिक ठाउँमा पेट्रोल पम्पहरुमा शौचालय बनाउनुपर्छ भनेको छ । त्यससँगै रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय मलाई सह्राहनीय नै लागेको छ । तर आममानिस र रेस्टुरेन्ट सञ्चालकले कसरी सहकार्य गर्छन् भन्ने चाहिँ हेर्न बाँकी छ । त्यसलाई त स्वागतयोग्य भनेर पास नै गर्‍यौं नि ।

वडाहरुमा कांग्रेसको बहुमत छ । तपाईंहरुले गुटबन्दी सुरु गर्ने त होइन ?

हैन तपाईंहरु कस्तो भ्रममा हुनुहुन्छ ? म काठमाडौं महानगरपालिकामा एमालेको बहुमत हुँदा पनि विद्यासुन्दर शाक्यसँग सहकार्य गरेको व्यक्ती हुँ । हामी कांग्रेसका प्रतिनिधीहरु काठमाडौं महानगरपालिकाको समस्यासँग जुध्न गएका हौँ । हामीले एउटा पार्टीको झण्डालाई लिएर चुनाव लडे पनि काठमाडौंबासीको हितको लागि त्यहाँ गएका हौँ ।

यहाँका समस्या समाधान भएमा जनताको जीवनमा आमुल परिवर्तन हुने हुँदा हामी पार्टीभन्दा माथि उठेर मेयर सा’बले नयाँ किसिमका आयोजना ल्याउनु भयो भने हामी सहयोग गर्न तयार छौँ । हिजो सत्तापक्ष र प्रतिपक्ष हुँदा त हामीले सहयोग गर्यौं भने आज त कुनै पार्टीबिना नै स्वतन्त्र उम्मेदवारको रुपमा आउनु भएको मेयरलाई सहयोग नगर्ने कुरा हुँदैन । तर रेल चलाउनलाई लिग नै चाहिन्छ, सडकमा रेल गुड्दैन भन्ने मेयर साबले बुझदिन पर्यो‍ ।

Comments

10 responses to “मुकुन्द रिजाललाई प्रश्नः बालेन्द्रलाई असफल पार्ने खेल सुरु गर्नुभएको हो ? (भिडिओ)”

  1. Dibya Avatar
    Dibya

    मेयरलाई कर्मचारी र उपमेयरले च्यापेको देखियो। बसाइ पद अनुसार ब्यवस्थित हुनुपर्यो। महानगर पालिका मेयर लगायात सम्पुर्ण जननिर्वाचित प्रतिनिधिको agenda मा चल्नुपर्छ र कार्यकारी प्रमुख कर्मचारी बैठकमा हाबी हुन भयन।

    1. Binod Raj Kanel Avatar
      Binod Raj Kanel

      Mayer should follow rules and regulations he is not above laws.

  2. Rajat k Shrestha Avatar

    आफू संयम हुने। बढी जान्ने हुने होइन। बलेन् mayor सांप ले जे सुरुवात गर्नु भयो एकदमै राम्रो पहल हो। के गोपनीयता हो र त्यस्तो की बैठक नै गोप्ये रूपमा गर्नु पर्ने। अब त प्रवक्ता पनि चाहिएन कि उसले फेरि बैठक को निर्णाए जनता लाई सुनाउनु पर्ने । अब लाइभ छ त। उसको नी समय बच्यो त। यसमा तिमीलाई के को आपत्ति हो र।

  3. Bishnu Avatar

    यी अलि चर्कै छन्। बिस्तारै वाेल्नै जान्दैनन् । पहिला थर्काईहाल्छन पछि काम गर्दिन्छन् । धेरै त ल अब हुन्न कि क्या हाे भनेर छाेडेर हिडछन् । याे कारणले ३०% मानिसकाे काम बिग्रेको छ भन्ने सुनेकाे छु ।

  4. ksp pyl Avatar
    ksp pyl

    याे अराजकले धम्काएर धेरै बजेट आफ्नाे वडामा लगेर कमाउन उफ्रेकाे हाे । जनताले ठिक पार्लान नि !

  5. ravi Avatar

    afno wodama makho mareka hoinan yinle dhunge dharama yeuta dhal banauna sakenan furti.

  6. नयाबजारबासि Avatar

    मुकुन्द ज्यू नयाबजारको कुनचै बाटो बनाउनुभो? हावा कुरा गर्ने? तपाईजस्तो निकम्मा वडा अध्यक्ष कोहिपनि थिएन होला त्यो कार्यकालमा! देख्ने र भोग्नेलाई थाहा छ। घमण्ड नगर्नुस अब राम्रो गर्नुस। अब खाने दिन गए भनेर रिस पोख्नुभा होला जनताले मुन्ट्याउलान बाटो हिड्दै गर्दा होस गर्नुस निकम्मा!

  7. Ravi aryal Avatar
    Ravi aryal

    आत्मा रोएको छैन भन्ने सोचका साथ, सरल स्वभाव र शैलीमा पनि सबै काम कारवाही गर्न सकिन्छ है भन्ने भावना र सोचको साथ अगाडि बढ्नुस । कहि कतै केहि बिग्रिएको छैन ।

    1. Ray Shrestha Avatar
      Ray Shrestha

      याे राजनीतिक र कार्यकारी अनुभब नभएको नयाँ मेयर हो भन्ने तपाईँलाई थाहा थिएन? जन्मदै तपाईंले सिकेर आउनु भएको थियो? पहिलाे बैठकमा प्रस्तुत गरेको अभद्रताले तपाईंले आफु, आफ्नो परिवार, पार्टी र वडाको नै बदनाम गर्नुभयो। आफ्नो आवाजलाई दोष दिएर उम्कने प्रयास नगर्नुहोस्। ठूलो आवाज र अभद्र आवाजको फरक छुट्याउन सक्छौ।

  8. Himalayan Frozen Adventure Avatar

    मेयरलाई कर्मचारी र उपमेयरले च्यापेको देखियो। बसाइ पद अनुसार ब्यवस्थित हुनुपर्यो। महानगर पालिका मेयर लगायात सम्पुर्ण जननिर्वाचित प्रतिनिधिको agenda मा चल्नुपर्छ र कार्यकारी प्रमुख कर्मचारी बैठकमा हाबी हुन भयन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *