मुस्ताङका सीडीओ भन्छन्- मानापाथीमा जहाज भेटिएको पुष्टि भएको छैन

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको भन्ने अझै पुष्टि नभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मानापाथी हिमाल शंकास्पद क्षेत्र भए पनि दुर्घटना भएकाे जहाज भेटिएको पुष्टि नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

उनले नेपालप्रेससँग भने, ‘अहिले जहाज मानापाथीको फेदीमा भेटिएको हल्ला आएको छ, त्यो निराधार हल्ला हो । अहिलेसम्म त्यहाँ जहाज भेटिएको पुष्टि भएको छैन । सम्भावित एरिया त्यो हुन सक्छ भन्ने हो तर भेटिएको भने होइन ।’

उनका अनुसार सेनाको टोली उक्त स्थानमा गइरहेको छ तर भेटिएको भन्ने खबर आएको छैन ।

मुस्ताङको थासाङ गाउँपालिकामा पर्ने लेते, कोवाङ, टिटीताल क्षेत्रमा जहाज दुर्घटना भएको हुन सक्ने अनुमानका आधारमा सेनाको टोलीले दिनभर खोजी गरेको थियो । तर, त्यस क्षेत्रमा केही नभेटिएपछि कोवाङ नजिकै रहेको मानापाथी हिमालमा जहाजको लोकेसन देखाएपछि सेनाको खोजी टोली, प्रहरी, स्थानीय त्यहाँ पुग्दैछन् ।

जहाज बिहान १० बजेर २ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा ३ जना चालक दलसहित २२ जना सवार छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *