१४ महिनादेखि बन्द भक्तपुर तलेजु खुल्यो

काठमाडौं । १४ महिनाअघिदेखि बन्द रहेको भक्तपुर तलेजु परिसर सर्वसाधारणको लागि खुला गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनानुसार बिहीबारदेखि भक्तपुर तलेजु सर्वसाधारणको लागि खुला भएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

खुला भएसँगै भक्तपुर तलेजु परिसरको भ्रमण तथा अवलोकन गर्ने सर्वसाधारणसँगै आन्तरिक र बाह्य पर्यटकहरु बढेको उनले बताए ।

वर्षौंदेखि आस्थाको धरोहर भक्तपुर तलेजु बन्द हुँदा सर्वसाधारणहरुले विरोध गर्दै आएका थिए । उनीहरुले कोरोना भाइरस संक्रमण मत्थर भएर सरकारले नै सबै बन्देजात्मक तथा निषेधात्मक आदेश खारेज गरिसकेको अवस्थामा भक्तपुर तलेजुमात्रै बन्द गर्नु अशोभनीय भएको बताउँदै आएका थिए ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र भएपछि २०७७ चैतदेखि भक्तपुर तलेजुमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको थियो ।

तलेजुका मूल नाइके जोशीले भने साढे २ वर्षदेखि नै भक्तपुर तलेजुमा सर्वसाधारणकाे प्रवेशमा राेक लगाइएकाे बताए । उनले बिहीबार जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकालाई संयुक्त सम्बोधन गरेर भक्तपुर तलेजु परिसरमा सर्वसाधारणलाई प्रवेश दिन सकिने व्यहोरोको निवेदन दिएका थिए । जसमा साढे २ वर्षदेखि भक्तपुर तलेजु प्रवेश गर्ने मुख्य द्वार लुध्वाका (स्वर्णद्वार) बन्द हुँदै आएकाे उल्लेख गरेका छन् । उक्त निवेदनमै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुर तलेजु खुला गर्न तोक आदेश दिएकी छन् ।

‘अर्को व्यवस्था नभएसम्म स्वास्थ्य मापदण्डको पालना गरी दर्शनको व्यवस्था मिलाउने’, प्रमुख जिल्ला अधिकारी शर्माले तोक आदेश गरेकी छन् ।

२०७७ साल चैतमा भक्तपुर नपाका प्रमुखको अध्यक्षताको नगरस्तरीय सीसीएमसीको बैठकले भक्तपुर तलेजुमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । सो समितिले दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा हुने बलिपूजामा समेत प्रतिबन्ध लगाएको थियो । उक्त समितिले आफ्नो निर्णय नसच्याएपछि अन्योलमा रहेका तलेजुका मूल नाइके तथा पुजारी नाइकेहरुले सर्वसाधारणको व्यापक विरोधपछि बिहीबारदेखि भक्तपुर तलेजु खुला गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *