काठमाडौं । नेकपा एमालेले यसअघि २० हजारको मतान्तरमा मेयर जितेको काठमाडौं महानगरपालिकामा यसपटक उपमेयरमा त्योभन्दा बढी मतान्तरले जित्ने निश्चित भएको छ ।
तर मेयरमा भने एमालेका उम्मेदवार केशव स्थापितले एमालेकै उपमेयर उम्मेदवारभन्दा २० हजार मत कम पाएका छन् ।
एमालेको उपमेयरले अग्रता लिएको र एमालेले वडाध्यक्षका जितेका अधिकांश वडामा मेयरमा भने लौरोमा मत गएपछि स्थापित एमालेका करीव आधा मतमात्र पाएर पराजयको नजिक छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले मंगलवार साँझ ५ बजेसम्म गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई करीव ३७ हजार मतान्तरले पछि पारेकी छन् ।
पछिल्लो गणना अनुसार एमाले उम्मेदवार डंगोलले ५४ हजार ९८१ मत पाउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत पाएका छन् । यो भनेको तीन दोब्बरले सुनिताको अग्रता हो ।
त्यस्तै उपमेयरमा चौथो मत आँखी झ्यालले पाएको छ । आँखी झ्यालको स्वतन्त्र उम्मेदवार विद्या महर्जन श्रेष्ठले ९ हजार ३८२ मत पाउँदा राप्रपाकी बिनिता मगैयाले ९ हजार ७५२ मत पाएर तेस्रो स्थानमा छिन् ।
त्यस्तै लौरो चिन्ह लिएका बेन्जिसिंह महर्जनले ५ हजार २३० र विवेकशील साझीकी कृति कंसाकारले २१५८ मत पाएकी छन् । उपमेयरमा ३० जना उम्मेदवार रहेकोमा एक सय मत कटाउने १० जनामात्र छन् ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले मेयरमा एमालेको मत स्वतन्त्र उम्मेदवार बालेन शाहले आधाभन्दा बढी लगेकाले आफूहरुले सोचेजस्तो नतिजा नआएको बताए । तर उपमेयरमा सुनिता डंगोलले पाएको मत नै एमालेको रहेको र वडाध्यक्ष तथा उपमेयरको मत हेर्दा त्यो पुृष्टि हुने उनको दावी छ ।
यस्तो छ काठमाडौंको उपमेयरमा पछिल्लो अपडेट
नेकपा एमाले–५४९८१
गठबन्धन–१८६५५
आँखी झ्याल–९३८२
राप्रपा–९७६२
लौरो–५२३०
विवेकशील साझा–२१५८
नेमकिपा–१४७
विपी कांग्रेस–११८

Leave a Reply