काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले काठमाडौं महानगरसहित धरान, धनगढी, जनकपुरलगायतका ठूला सहरमा स्वतन्त्र उम्मेदवारहरूले पाएको मत एमाले र केपी ओलीविरुद्धको अभिमत भएको दाबी गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले धरानमा कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा उठाउँदै पनि मतदाताले के के न हुन्छ भनेर स्वतन्त्रलाई जिताएको बताए । उनले मुलभूतरूपमा काठमाडौं, धरानलगायतका ठाउँमा आएको स्वतन्त्रको लहर कांग्रेसविरुद्ध नभएर ओलीविरुद्धको अभिव्यक्ति रहेको दाबी गरे ।
उनले भने, ‘यो केपी ओली र एमालेविरुद्धको अभिव्यक्ति हो । त्यसको घानमा नेपाली कांग्रेस पनि परेको छ । ओलीले पूरा कार्यकाल काम गर्न सकेनन्, देशमा स्थायित्व हुन सकेन । जनताले त्यसविरुद्ध अभिव्यक्ति दिएका हुन्, हामी पनि त्यसको घानमा परेका हौं ।’
डा. महतले स्वतन्त्र उम्मेदवारले जित्दैमा वा उनीहरूले मत ल्याउँदैमा कांग्रेस असफल भयो र दलहरू असफल भए भन्न नमिल्ने समेत बताए ।

Leave a Reply