काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय चुनावयता मौन छन् । उनी केही दिनदेखि स्वास्थ्य अवस्थाका कारण घरमै आराम गरिरहेका थिए । पूर्णस्वस्थ नभए पनि आज उनी एक सार्वजनिक कार्यक्रममा प्रस्तुत भए ।
मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट स्टर्डे’ सार्वजनिक कार्यक्रममा ओली उपस्थित भएका हुन् । कार्यक्रमको प्रकृतिअनुसार भाषण गर्ने ओलीले आज पनि आफ्नो त्यही शैली पछ्याए । चुनाव परिणामका विषयमा उनको कुनै पनि टेसिलो टिप्पणी आएन ।
४० मिनेट भाषण गरेका ओलीले कविता र कविबारेको चर्चाबाट मन्तव्य सुरू गरेका थिए । उनले नेपालीहरू जातैले कवि भएको बताए ।
ओलीले भने, ‘हरेक नेपालीको नामको अन्त्यमा कवि लेखिदिए पनि हुन्छ ।’
ओलीका अनुसार लिपि पैदा हुनुभन्दा अगाडि पनि नेपालीहरूले गीत गाउँथे र काव्य रचना गर्थे ।
‘काव्य, छन्दको रचना, तालको आविष्कार यस भूमिमा भएको थियो भन्न पाउँदा खुशी लाग्छ,’ ओलीले भने, ‘विश्वका कुनै कविले आफू ‘आँशु कवि’ भएकोमा घमण्ड गर्छ भने उसर्लाइ नेपाली आँशु कविले १० मिनेट घाँस काट्दाकाट्दै हराइ दिन्छ ।’

नेपालीले जस्तो गीतमा दोहोरी खेल्न संसारमा कसैले नसक्ने उनले बताए ।
‘गीतमा पनि यस्तरी भन्छ, खुत्रुक्कै हुनेगरी भन्छ । त्यो काव्यात्मकता, लयात्मकता कसरी आउँछ ? कहिलेकहीँ के भनेको नै नबुझेर एकछिनपछि हाँस उठ्छ । गाउँदै जाँदा कति मर्मको कुरा फुत्त निकालेको हुन्छ । कति महान कवित्व ? विम्बको अलंकारको कति राम्रो संयोजन ?’
हातहतियारको सृष्टि नेपालमै भएको ओलीले दाबी गरे । ढुंगे युगबाट धातु युगमा प्रवेश गर्दा शिवले त्रिशूल लिएको भन्दै यही नै पहिलो हतियार भएको उनको भनाइ थियो । यस्तै, शिवले बजाएको डमरु नै पहिलो वाध्यवाधन भएको उनले बताए ।
‘नृत्य यहीँ सुरू भयो । कला यहीँ सुरू भयो । नाट्यविधा यहीँ पैदा भयो । लय, छन्द, ताल यहीँ सुरू भयो । कवित्व भन्ने भाव यस धर्तिमा हजारौं वर्षअघि छ,’ उनले भने ।
ओलीले थपे, ‘शास्त्रार्थको सुरूवात पनि हाम्रै भूमिबाट भएको हो । अरुले शास्त्र भन्ने नै पत्ता नलगाउँदा ४ वर्षअघि त्रेता युगमा शास्त्रको सम्वन्धमा बहस हुनेगर्थ्यो ।’

Leave a Reply