काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले अनलाइन डोनेसन प्लेटफार्म सञ्चालनमा ल्याएको छ । विश्व रेडक्रस दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।
रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिनको अवसर पारेर हरेक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाइँदै आएको छ । सोही अवसरमा आइतबार नेपालमा पनि विश्व रेडक्रस दिवस मनाइएको हो ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा मनाइएको दिवसमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) नेपाल प्रमुख अजमद उल्ला, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का कार्यबाहक नेपाल प्रमुख विनोद काफ्ले र नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले संयुक्त रूपमा रेडक्रसको झण्डोत्तोलन गरेका थिए ।
उक्त अवसरमा आईएफआरसी नेपालका प्रमुख अजमद उल्लाले रेडक्रस अभियान संसारभरिकै पहिलो मानवीय संस्था भएकोले जस्तोसुकै परिस्थितिमा पनि मानव जीवन बचाउने कार्य पहिलो प्राथमिकता भएको बताए ।
उनले सरोकारवाला निकायसँग समन्वय गरी समुदायसँग अझै नजिक रहेर पीडा कम गराउने खालका कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै आईसीआरसी नेपालका कार्यबाहक प्रमुख विनोद काफ्लेले नेपालमा रेडक्रसका कार्यहरूलाई अझै प्रभावकारी बनाउन रेडक्रस कानुन ल्याउन पहल गर्नुपर्नेमा सुझाव दिए । यसमा आईसीआरसी आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जस्तोसुकै विपद् तथा महामारीका समयमा नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरू अग्रपंक्तिमा रहेर मानव सेवामा केन्द्रित रहेको बताए । कोभिड महामारीबाट प्रभावित ६० लाख मानिसलाई नेपाल रेडक्रसले सेवा दिएको उनले जानकारी दिए ।
उनका अनुसार नेपाल रेडक्रसले वार्षिक करिब ३० लाख व्यक्तिलाई सेवा पुर्याउँदै आएको छ । रेडक्रस अभियानमा विश्वभर करिब ९ करोड ८० लाख बढी व्यक्तिहरू आबद्ध छन् ।
नेपालमा विसं २०२० साल भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटी स्थापना भएको थियो । नेपाल रेडक्रसको सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय र स्थानीय तहमा एकहजार ५५४ उपशाखा कार्यालय रहेको बताइएको छ ।
नेपाल रेडक्रसको कोष अभिवृद्धि तथा भौतिक सहयोग गर्ने संस्था तथा महानुभावहरूलाई सम्मान गरिएको कार्यक्रममा नेपाल रेडक्रसले सञ्चालन गरिरहेका गतिविधिका बारेमा नेपाल रेडक्रसको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक धर्मदत्त विडारीले प्रस्तुतीकरण गरेका थिए ।

Leave a Reply