बालक्लवका सदस्यहरुलाई आक्रमण प्रयास गर्ने कांग्रेस कार्यकर्तामाथि कारवाही माग

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको वडास्तरीय बालक्लव सञ्जालले गरेको सचेतना कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताले गरेको आक्रमण प्रयासलाई लिएर बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आपत्ति जनाएको छ ।

हिजो उक्त सञ्जालका जन्मदर्ता र विद्यालय भर्नासम्वन्धी सचेतना अभियानका क्रममा कांग्रेस कार्यकर्ताबाट आक्रमण प्रयास भएको थियो ।

संविधान बालबालिकाको सहभागिताको हक, विद्यमान कानुन, नेपाल सरकारले जनाएका बालअधिकार सम्बन्धी अन्तरराष्ट्रिय प्रतिवद्दताहरुको विपरित हुने गरी उक्त क्रियाकलाप भएको सिजपको ठहर छ ।

‘विद्यालय भर्ना र जन्मदर्ता जस्तो बालबालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा राम्रो कार्य गरिरहेका बालबालिकालाई प्रोत्साहन गर्नुको साटो राजनीतिक रङ दिई बालबालिकामाथि आक्रमणको प्रयास गर्नु कानुन विपरित, बालअधिकार विपरितको कार्य हो,’ संस्थाका अध्यक्ष राजेश शर्मा र महासचिव मिना शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा घटनामा संलग्नहरुमाथि कार्वाहीको वातावरण सिर्जना गर्न नेपाली काँग्रेससँग आग्रह गरिएको छ । साथै घटनाको सुक्ष्म अध्ययन गरी दोषीलाई कार्वाही गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

एमाले नेतृत्वमा रहेको तिलोत्तमा नगरपालिकाले आसन्न स्थानीय चुनावलाई लिएर मतदातालाई प्रभावित गर्ने किसिमले बालबालिका परिचालन गरिएको भन्दै कांग्रेस कार्यकर्ताले हस्ताक्षेप गरेका थिए ।

यस क्रममा केही बालबालिकालाई लछारपछारसमेत गरिएको थियो । यसविरुद्ध बालक्लव सञ्जालले कानूनी उपचार खोज्ने तयारीसमेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *