काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशका ब्यारेल नराख्ने तयारीमा सरकार रहेको बताएका छन् ।
उमेर हदका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीको बिदाइका लागि आयोजित कार्यक्रममा उनले प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि के गर्ने होला ? भन्ने विषयमा छलफल प्रारम्भ भएको बताए ।
गृहमन्त्री खाणले भने, ‘उमेरको हदबन्दीलाई मिलान गर्ने, पदीय समायोजनको कुरालाई पनि मिलान गर्ने गर्दा ३० वर्षलाई नराख्दा हुन्छ भन्ने छ । प्रहरीमा फेरि जान लागेकाले ३० वर्ष लाग्न हुन्न भन्छन् । उनीहरूलाई पठाएर आफू बन्न चाहनेले लगाउनुपर्छ भन्छन् । हामीले गर्दा खेरी संस्थालाई हित हुने कसैलाई पनि नकारात्मक प्रभाव नपर्ने समयमा मिलान गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’
सरकारको चाहना उमेर हदलाई पहिल्यै मिलान गर्ने रहे पनि लामो समयसम्म संगठनलाई व्यवस्थित राख्न नसकेको र निर्वाचनको मुखमा नीतिगत निर्णय नगरौँ भन्ने सल्लाहका कारण तत्कालका लागि रोकिएको गृहमन्त्री खाणले बताए ।
उनले प्रहरी र सशस्त्रले सीमित स्रोत र साधनलाई उपयोग गरेर असीमित भूमिका र कार्य गरेको बताए । त्यसका लागि उनले अवकाश भएर जान लागेका दुवै महानिरीक्षकहरूलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे ।
गृहमन्त्री खाणले नेपाल प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको बताए ।
गृहमन्त्री खाणले मन्त्रालयको भूमिकाका हिसाबले भन्दा थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको बताए ।
सशस्त्र प्रहरीका महानिरीक्षक केसीले आफ्नो छोटो कार्यकालमा ‘हुने बिरुवाको चिल्लो पात भने जस्तै राम्रा कामको थालनी गरेको बताए ।

Leave a Reply