काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।
मे दिवसका अवसरमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने विषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।
कुनै स्थानमा रातिसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको उनको गुनासो छ ।
देशभरका निर्वाचन कार्यालयहरू निष्पक्ष र व्यवसायिक रूपमा सञ्चालन हुनुपर्ने पुनले जोड दिए । कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाउनुभयो ।
थपलियाको ‘मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन’ भन्ने अभिव्यक्ति र केपी ओलीको बोली समान रहेको भन्दै पुनले आपत्ति जनाए ।
‘निर्वाचन आयोग रेफ्री हो यसले रेफ्रीकै भूमिकामा रहनुपर्छ आफैं मैदानमा ओर्लेर खेल खेल्न हुँदैन’, पुनको भनाइ थियो ।
स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको र यसले देशलाई निकास दिने उनको दाबी थियो । नेता पुनले अबको निर्वाचनमा एमाले पराजित हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु रहेको तर्क गरे ।

Leave a Reply