केशव स्थापित र बालेनमाथि तुच्छ आरोपपछि नेसनल कलेजमा भयो यस्तो हंगामा (भिडिओ)

काठमाडौं । काठमाडौंको मेयर पदका प्रत्याशीहरुलाई बिहिबार काठमाडौंको नेसनल कलेजमा अन्तरक्रियाका लागि निम्त्याइएको थियो । तर, प्रत्याशीहरुमाथि अतिरञ्जित र व्यक्तिगत लाञ्छनायुक्त आरोपले विषयवस्तु डाइभर्ट भयो र सिंगै कार्यक्रमको माहोल विथोलियो ।

मेयरका दुई उम्मेदवार केशव स्थापित र बालेन शाहमाथि एक छात्राले गम्भीर आरोप लगाएकी थिइन् । उनको आरोपमा स्थापित आक्रामक रुपमा प्रस्तुत भए जथाभावि बोल्न पुगे । बालेनले भने शान्त प्रतिवाद गरे ।

आरोप लगाउने छात्रा भावना राउत विवेकशील नेपालीकी पूर्वकार्यकर्ता हुन् । प्रश्नका रुपमा उनले स्थापितमाथि यसरी प्रहार गरेकी थिइन् :

‘हामीले विगतमा यस्तो गर्‍यौं, उस्तो गर्‍यौं भन्नुभयो । तर विगतमा हेर्दा दुईजना महिलाले तपाईंमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् । तपाईंले मेयर जितेको अवस्थामा म तपाईंको अफिस गएँ भने सुरक्षित हुन्छु कि हुन्न ? तपाईंकै उपमेयर सुनीताजी तपाईंबाट सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न ?’

त्यसपछि न्यायाधीसको शैलीमा उनले भनिन्, ‘अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि तपाईंलाई हामी सबैको भोट चाहिन्छ भने ‘एक्सप्लानेसन’ दिनैपर्छ । तपाईंले गरेको गल्ति होइन, अपराध हो । यदि होइन भने प्रमाणसहित आउनुस् । हो भने यो कुर्सी छोडेर जानुस् ।’

भावनाको यस्तो प्रस्तुतिले स्थापित उत्तेजित बने ।

बसिरहेको कुर्सीबाट जर्याकजुरुक उठ्दै उनले भने, ‘तपाईंलाई यो प्रश्न सोध्ने हक छैन । म जत्तिको मान्छेलाई यस्तो आरोप लगाउन कुनै प्रमाण छ ? छ भने देखाउनुस् । नत्र पत्रिका पढेको भरमा जे पनि आरोप लगाउन पाउनुहुन्न ।’

उनले आवेशमा आउँदै थपे, ‘यु आर नाइस लेडी । तर थुतुनो ठीक छैन तपाईंको ।’

स्थापितले संयम गुमाएपछि विद्यार्थीहरुले सम्झाउने प्रयास गरेका थिए ।

रिस शान्त गर्न आग्रह गर्दा उनले भने, ‘केशव स्थापित रिसको भाँडो हो । नरिसाउनु भन्न पाइन्छ ? म एग्रेसिभ नै छु । कराँते खेल्या हो ।’

आफूमाथि आरोप लगाउने महिला कांग्रेस उम्मेदवार सिर्जना सिंहबाट परिचालित रहेको स्थापितले संकेत गरे ।

उनले भने, ‘यदि मैले केही गरेको भए एफएममा प्रोग्राम सञ्चालन गर्ने त्यत्रो सोसल कन्ट्याक्ट भएको मान्छेले थप्पड हान्दैन ? २५ वर्षसम्म दबाएर बस्छ ? सिर्जनाजी र उहाँ सँगै बसेको फेसबुकमै राखिएको छ । त्यसको भोलिपल्टदेखि खेल सुरु भयो । आई फायर्ड एन्ड सि इज नाउ हायर्ड । उहाँको डकुमेन्ट निकालौं ? म निकाल्दिउँ । यु क्यान्ट हियर । यु क्यान्ट विलिभ । यो महिलाले यतिसम्म गरेको रहेछ भनेर… ।’

स्थापितको यो जवाफमा साझा विवेकशीलकी मेयर प्रत्याशी समिक्षा बास्कोटाले हस्तक्षेप गरिन् ।

उनले भनिन्, ‘केशवजीले प्रमाण छ भन्नुभयो । म कानूनको विद्यार्थी हुँ । यदि यो चुनावको फन्डाजस्तो मात्र लाग्छ भने चरित्रहत्यामा मुद्दा हाल्न सक्नुहुन्छ । यहाँसित प्रमाण पनि रहेछ । यदि यहाँ चाहनुहुन्छ भने तपाईंको मर्यादामा आँच पुर्याएको भनेर मुद्दा हाल्दिनुस् । कानूनी दायराबाट यो सेटल हुन्छ । त्यसपछि कसैले पनि उठाउँदैन । तर तपाईंले महिलामाथि सभ्य भएरै बोल्नुपर्छ ।’

अब आरोप खेप्ने पालो आयो बालेनको । उनै भावनाले स्थापितपछि बालेनलाई निशाना बनाइन् । उनले बालेनका र्‍यापहरूले महिलाको अपमान भएको दावी गरिन् । उनको यस्तो दावीलाई उनै विवेकशील-साझाकी समिक्षाले साथ दिइन् ।

भावनाले बालेनलाई लक्ष्यित गर्दै भनिन्, ‘बालेनजी, तपाईंको गीतहरु सुनेको छु । तपाईंको र्‍यापहरुले महिलालाई कुन दर्जामा राखेको छ भन्ने हेरेको छु । सबै भोटरसँग तपाईंले माफी माग्ने कि नमाग्ने ?’

बालेनले उनलाई र्‍याप ब्याटलको कल्चर बुझ्न आग्रह गरे ।

उनले भने, ‘अमेरिकामा जस्तो प्राक्टिस छ, त्यही कपि गर्दा त्यस्तो भएको हो । तर, हाम्रो गीतहरुमा त्यस्तो केही छैन । मैले ‘अनलर्न’ गर्ने भनेर स्टाटस कहीँ पनि लेखेको छैन । मैले त्यो चिज कहीँ पनि ‘लर्न’ गरेको छैन । त्यो गीत अर्कै विधा हो ।’

भावनाले उनलाई प्रतिप्रश्न गर्दै सोधिन्, ‘तपाईंको र्‍याप तपाईंले लेखेको हो कि होइन ? भोलि मेनिफेस्टो पनि मैले लेखेको होइन भन्नुहोला, कसरी पत्याउने ?’

बालेनले फेरि शान्त जवाफ दिए, ‘भारतीय सिनेमा कविरसिंह हिट भयो । त्यसमा महिलाविरुद्धका सेन्टिमेन्ट धेरै थिए । त्यो विधा नै त्यस्तै हो । अमेरिकन र्‍याप ब्याटल हेर्नुभयो भने बुझ्नुहुन्छ । यसमा यतिसम्मको सहनशीलता चाहिन्छ कि जुनसुकै लेभलमा गिरेर, उठेर वा हिँडेर होस आफ्नो अपोनेन्टलाई परास्त गर्न खोजिन्छ । मलाई पछि मन नलागेर छोडेको हुँ । यसमा अनलर्न गर्ने कुरा केही छैन ।’

बालेनको उक्त जवाफलाई विवेकशीलकी नेतृ समिक्षाले प्रतिवाद गरिन् ।

उनले भनिन्, ‘सरी टु से । तपाईं अमेरिकाको र्‍याप ब्याटल हेर्नुस् कि नेपालको र्‍याप ब्याटल हेर्नुस् । महिलाको संवेदनशील इस्यूमा बोल्दा विचार पुर्याउनुपर्छ । महिलामाथि प्रश्न उठाउन पाइँदैन ।’

बालेनले उनैलाई प्रश्न गरे, ‘आजभन्दा आठ वर्ष अगाडि किन यो प्रश्न उठाइएन त मलाई ? म यहीँ थिएँ त ।’

सहभागीहरुले उनको समर्थनमा ताली बजाए ।

Comments

2 responses to “केशव स्थापित र बालेनमाथि तुच्छ आरोपपछि नेसनल कलेजमा भयो यस्तो हंगामा (भिडिओ)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो नियोजित चुनावी खेल हो बिना प्रमाण यसरी मान्छेको चरित्र हत्या गर्ने संचालित मिसन पत्रकारिता हो सचेत ।

    1. John Lamba Avatar
      John Lamba

      You are totally wrong. People have rights to ask the question which is in air and they must be cleared who is what before they vote to the candidate.

Leave a Reply

Your email address will not be published. Required fields are marked *