चेल्सी वुल्भ्ससँग पराजित, म्यानचेस्टर सिटी वेष्ट ब्रुमसँग बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमिर लिग फुटबलमा मंगलबार राती भएका खेलहरुमा चेल्सीले वुल्भ्ससँग २–१ गोलको पराजय ब्यहोरेको छ । म्यानचेस्टर सिटीले वेष्टब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

आफ्नो टोलीले अग्रता लिएर पनि अन्तिम मिनेटमा पराजित हुनु परेपछि चेल्सीका प्रशिक्षक फ्र्यांक लाम्पार्डले खेलाडीले थकित महशुस गरेको बताए ।

पेड्रो नेटोले इन्ज्यूरी समयमा गोल गरेपछि घरेलु टोली वुल्भ्सले नाटकीय जित निकाल्यो भने चेल्सीलाई अंकतालिकाको शीर्ष स्थानमा पुग्नबाट पनि रोक्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै ओलिभर जिरोडले गोल गरेपछि पाहुना टोलीले अग्रता बनाएको थियो । ६६ औं मिनेटमा ड्यानियल पोडेन्सले बराबरी गोल फर्काएका थिए ।

चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो हार ब्यहोरेको हो भने वुल्भ्सका लागि पछिल्लो ६ खेलमा दोस्रो जित हो । हारपछि पनि चेल्सी २२ अंकसहित पाँचौं स्थानमा छ । समान १३ खेलबाट २० अंक हासिल गरेको वुल्भ्स दशौं स्थानमा छ ।

यता म्यानचेस्टर सिटीले घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा वेष्टब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

रेलिगेसन जोनमा रहेको वेष्ट ब्रुमसँगको बराबरीपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टिमको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै जित्नैपर्ने खेल भनेका छन् ।

‘हामीले लामो सिजन बिताउनुछ । यदि हामीलाई माथि पुग्नुछ भने यस्ता खेलहरु जित्नुपथ्र्यो, अन्याथा हामी कतै पुग्दैनौं,’ ग्वार्डिओलाले भने, ‘हामीले अवसर सृजना गरेका थियौं त्यसलाई उपयोग गर्न सकेको भए खेल जित्ने थियौं ।’

गुन्डोगानले ३० औं मिनेटमा गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । तर ४३ औं मिनेटमा वेष्ट ब्रुमले उपहार गोल पायो र खेल बराबरीमा आयो । सिटीका पोर्चुगिज डिफेन्डर रुवेन डायसले आत्मघाती गोल गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *