काठमाडौंको मेयरका लागि पहिलो दिन १६ जनाको मनोनयन दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरका लागि पहिलो दिन १६ जनाले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रिय सभा गृहमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार जना महिला र १२ जना पुरुषसहित गरेर १६ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ताको पहिलो दिन साँझसम्ममा पार्टीको प्रतिनिधित्व गर्दै सात जनाले र स्वतन्त्र रूपमा नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

यसरी मनोनयन दर्ता गराउने पार्टीमा विवेकशील साझा पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेपाल समावेशी पार्टी, मौलिक जरो किलो पार्टी, सचेत नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी रहेका छन् ।

यससँगै उपमेयर पदमा पनि १७ जनाले मनोनयन दर्ता गराएका छन् भने वडाध्यक्षमा २३ जना र वडा सदस्यमा सात जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

निर्वाचन तालिकाअनुसार सोमबार साँझ पाँच बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न पाउनेछन् । वैशाख १३ गते बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय सीमा तोकिएको छ ।

वैशाख १४ गतेदेखि १५ गते साँझ पाँच बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ । १५ गते साँझ पाँच बजेदेखि ६ बजेसम्ममा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

१६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसै दिन साँझ पाँच बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

१७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *