जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका– २ र ५ कालेखोली क्षेत्रका बासिन्दाले पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले बिजुलीको लाइन काटेको छ । समन्वयमा पोल गाड्न खोजिए पनि स्थानीयवासीले नदिएकाले केन्द्रले लाइन नै काटिदिएको हो ।
एयरपोर्ट लोड सेन्टरबाट कालेखोली क्षेत्रमा सय केभिएको विद्युत् आपूर्ति गरिए पनि पछिल्लो समय लोड धान्न नसकिएको केन्द्रका प्रमुख नरेश रावलले बताए। लोड व्यवस्थापनका लागि कालेखोली क्षेत्रमा ट्रान्सफर्मर राख्न दुई महिनादेखि प्रयास गर्दा पनि विवाद भएपछि बिजुलीको लाइन काटिएको र विवाद समाधान नहुञ्जेल कालेखोली क्षेत्रको बिजुली बन्द गरिएको छ ।
लाइन काटिएको विषयमा स्थानीय प्रहरी प्रशासन र नगरपालिकालाई पनि जानकारी गराइएको जनाइएको छ ।चन्दननाथ नगरपालिका– ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले स्थानीयवासीसँग समन्वय गरी पोल गाड्न दिने वातावरण सिर्जना गरिएको बताए ।
ट्रान्सफर्मर २४ नम्बर बाहिनी नजिक राख्ने कुरा बुझिएको छ । अर्के ट्रान्सफर्मर कालेखोली नजिक सार्वजनिक शौचालयको छेउछाउमा राख्न जग्गा व्यवस्थापन गर्न सकिने उहाँको भनाइ थियोे ।
ताम्ती गाउँ सडक सञ्जालमा जोडियो
जुम्लाको विकट मानिने तातोपानी गाउँपालिका भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । जिल्लाकै दुर्गम ताम्ती सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् ।
सडक नहुँदा स्टेचरमा बिरामी बोक्नुपर्ने बाध्यता थियो, कैयौँको बाटोमै ज्यान गयो, अव सुखका दिन आउनेछन् । पिठ्यूँमा भारी बोकेर उकालोमा यात्रा गर्नुपर्ने दिन अब हटेको स्थानीयवासी अर्जुन रावतले बताए।
उनले भने,‘ताम्तीबासीको गाउँमै मोटर हेर्ने चाहाना पूरा भएको छ । अव कोही सुत्केरी आमा, शिशु र बिरामीले ज्यान गुमाउने छैनन् । उक्त गाउँ भेरिखोलाको अन्न भण्डारका रुपमा चिनिन्छ । झण्डै तीन सय घरधुरी रहेको ताम्ती भेरिखोला क्षेत्रकै सबैभन्दा ठूलो गाउँ पनि हो ।’
सिमी, आलु, फापर, मकै, गहुँ, जौँ प्रशस्त फल्ने यो गाउँमा आफ्ना कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज हुने अपेक्षा गरिएको स्थानीयवासी वीरजीते रावतले बताए ।रासस

Leave a Reply