कैलाली । कैलालीमा तालमेललाई अन्तिम रूप दिन बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकले आज पनि सहमति जुटाउन सकेन ।
सहमतिको अन्तिम खाकामा माओवादी र एकीकृत समाजवादीले असहमति जनाएपछि आज सहमति जुट्न नसकेको हो ।
नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये आफूले उपमहानगरपालिका सहित सात पालिकामा प्रमुख पाउने, माओवादी केन्द्रले चार पालिकामा प्रमुख पाउने र एकीकृत समाजवादीले दुई पालिकामा प्रमुख पाउने गरी खाका प्रस्तुत गरेको थियो ।
तर, उक्त खाकामा माओवादी केन्द्र र एकीकृत साजवादीले असहमति जनाएपछि सहमति हुन नसकेको हो ।
कैलालीमा १३ स्थानीय तह मध्ये अघिल्लो स्थानीय तहमा कांग्रेसले चार पालिका र माओवादी केन्द्र २ पालिकामा विजयी भएको थियो ।
शनिवार नेपाली कांग्रेसले कांग्रेसले जितेको पालिका बाहेक तीन पालिका र माओवादीले जितेका पालिका बाहेक २ पालिका दिने र एकीकृत समाजवादीलाई दुई पालिका दिने गरी खाका प्रस्तुत गरेको थियो ।
तर, माओवादी र एकीकृत समाजवादीले आफूहरूको भाग कम भएको भन्दै असहमति जनाए पनि आजको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
‘हामीले भन्दा कांग्रेसले झन्डै आधा बढी राख्ने गरी खाका प्रस्तुत भएको थियो’ माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवालीले भने ‘हामीले त्यो खाका मान्ने कुरै भएन ।’
माओवादीले अन्तिममा पाँच स्थानीय तह सम्ममा समझदारी गर्न सक्ने उनले व्यक्त गरे । ‘हामी पाँच सम्ममा समझदारी गर्न सक्ने कुरा हुन सक्छ । तर, चारमा हामी मान्दै मान्दैनौँ’ उनले भने ‘ हाम्रा लागि चार पालिकामा सीमित हुनु भन्दा मित्रवत् प्रतिस्पर्धा गर्न उपयुक्त छ ।’
धनगढी उपमहानगरपालिका सहित टिकापुर लम्की चुहा, गोदावरी,बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले राख्ने र गौरीगङ्गा नगरपालिका ,भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्र लाई दिने गरी खाका प्रस्तुत गरेको थियो ।
घोडाघोडी नगरपालिका र चुरे गाउँपालिमा सीमित गर्न खोजिएको भन्दै एकीकृत समाजवादीले पनि असहमति जनाएको थियो ।
‘हामीलाई कम्तीमा तीन पालिका चाहिन्छ’ वार्तामा बसेका एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सचिव दिनेशराज सुबेदीले भने ‘हाम्रो माग चार पालिका हो । सहमतिका लागि हामी तीन पालिका सम्ममा चित्त बुझाउन सक्छौँ । ’
उनले कांग्रेस र माओवादीले पहिल्यै प्रारम्भिक खाका बनाएर एकीकृत समाजवादीलाई पेल्ने ढङ्गबाट प्रस्तुत भएको आरोप लगाए ।
शनिवार कैलालीको विषयमा छलफल टुङ्गो नलागेपछि आइतबार पुनः निर्णायक छलफल गर्ने भनिएको छ ।

Leave a Reply