भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार चितवनको भरतपुरमा आमसभा गर्दैछ । केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा हुने आमसभामा ५० हजार बढी सर्वसाधारण सहभागी हुने राप्रपा चितवनले दाबी गरेको छ ।
आमसभास्थलमा चितवन र छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधारण आउने क्रम सुरु भएको छ ।
आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे बिहीबार नै चितवन आइसकेका छन् । केन्द्रीय अध्यक्ष लिङदेन, उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा बिहान ११ बजे चितवन आइपुग्ने कार्यक्रम छ ।
आमसभाको औपचारिक कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए । आमसभास्थल बसपार्कको खुला चौरलाई ५ दिन लगाएर सफा गर्ने, सम्याउने काम भएको थियो । आमसभा हुने भएपछि राप्रपाले चोक तथा बसपार्क आसपास क्षेत्रमा राप्रपाका झण्डाहरु राखेर सजाइएको छ ।
आमसभामा आदिवासी, जनजातिहरुको मौलिक नृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत हुने जनाइएको छ । स्थानीय पञ्चेबाजा, झाँकी, र्यालीसहित स्वःस्फुर्त सहभागी हुँदैछन् ।

Leave a Reply