गठबन्धनमा अनाैठो सहमति : आपसी तालमेल नभए अरु दलसँग पनि मिल्न नपाउने

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन दलका नेताहरू सबै पालिकामा गठबन्धन गर्न तयार नभएको अवस्थामा यी बाहेकका अन्य दलसँग गठबन्धन गर्न नपाइने कडा नियम बनाएका छन् ।

गठबन्धन दलले लुम्बिनी प्रदेशमा पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल गर्न नपाउने औपचारिक निर्णय सोमबार गरेका छन् ।

बुटवलमा बसेको पाँच दलीय गठबन्धनका नेताहरूको बैठकबाट पाँच दलबाहेक अन्य कुनैसँग चुनावी तालेमल नगर्ने निर्णय गरिएको हो ।

बैठकले चुनावी गठबन्धनका पाँच दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनावी संयन्त्र बनाएको छ । जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउन निर्देशन दिने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताए ।

बैठकले गठबन्धन दलको संयुक्त स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ । कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेकपा माओवादीका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री र जनता समाजवादी पार्टीका अशोकुमार यादव रहेका छन् ।

परिवर्तनका उपलब्धि र गणतन्त्रको रक्षाका लागि गठबन्धन दलहरूको काँधमा थप जिम्मेवारी थपिएकाले स्थानीय निर्वाचनका लागि गठबन्धनलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि पाँच दलबिच आपसी सहमति भएको राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले बताए ।

विज्ञप्तिमा नेपाली कांग्रेस सभापति अमरसिंह पुनमगर, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अध्यक्ष सुदर्शन बराल, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका बद्रे आलमले संयुक्त रूपमा हस्ताक्षर गरी बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् ।

Comments

One response to “गठबन्धनमा अनाैठो सहमति : आपसी तालमेल नभए अरु दलसँग पनि मिल्न नपाउने”

  1. ksp pyl Avatar
    ksp pyl

    तानशाह भनेका यस्ता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *